कालीकोटको तिलागुफा नगरपालिका-१० को पर्यटकीय क्षेत्र रुडुबन्चुमा रेडपाण्डा भेटिएको छ । रुडुबन्चु गाउँका युवाले लेकको रुडुक्षेत्रमा रेडपाण्डा भेटाएका हुन् ।
दुर्लभ स्तनधारी जनावर रेडपाण्डा रुडुबन्चु जंगलमा भेटिएको तिलागुफा नगरपालिका-१०का वडाध्यक्ष मुनबहादुर थापाले बताए । ‘मानवीय गतिविधिका कारण पछिल्लो समय रेडपाण्डा निकै लोपोन्मुख अवस्थामा छ,’ उनले भने,‘लोप हुँदै गएको रेडपाण्डा रुडुबन्चुमा बेला बेलामा भेटिने गरेको छ ।’ नगरपालिकाले रुडुबन्चुमा संरक्षणको लागि विभिन्न कार्यक्रम गरिरहेको उनको भनाइ छ ।
तिलागुफा नगरपालिकाको रुडुबन्चु क्षेत्रमा मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपालले रेडपाण्डा नेटवर्कको आर्थिक सहयोग तथा तिलागुफा नगरपालिकाको समन्वयमा रुडुबन्चुमा विगत ६ वर्षदेखि रेडपाण्डा संरक्षणको लागि बासस्थान व्यवास्थापन, समुदायलाई सचेतना, वृक्षारोपन, चोरीसिकारी बन्द जस्ता विषयमा जनचेतना र विभिन्न कार्याक्रम गदै आएको मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालीकोटका जिल्ला व्यवास्थापक दिलिप कुमार शाहीले जानकारी दिए। कालीकोटको शुभकालिका गाउँपालिका र तिलागुफा नगरपालिकामा रेडपाण्डा नेटवर्कको कार्यक्रम लागु रहेको उनको भनाइ छ।
रेडपाण्डाले विशेष गरी मालिङ्गो बाँसको टुसा खान मन पराउने हुनाले मालिङ्गो भएको क्षेत्रमा बढी भेटिने स्थानीय बताउँछन् । सामुदायिक वन समूहको सक्रियता तथा विभिन्न परियोजनाको सहकार्यमा रेडपाण्डा संरक्षण अभियान सञ्चालन गरिएको छ । विशेषगरी रुडुबन्चु क्षेत्रका विभिन्न वन समूहमा आबद्ध स्थानीय रेडपाण्डाको संरक्षण तथा प्रचारप्रसार अभियानमा जुटेका छन् ।
रुडुबन्चुका साथै फोई, राचुलीसहितको क्षेत्रमा रेडपाण्डा पाइने गरेको स्थानीयको भनाइ छ । रेडपाण्डा संरक्षण गर्न तिलागुफा नगरपालिकाले बजेटको व्यवास्थापन गरेको तिलागुफा नगरपाललिकाका मेयर शंकरप्रसाद उपाध्यायले बताए ।
२०७७ सालमा कालीकोटको शुभकालिका गाउँपालिका– ६ हाउडी लेकमा दुर्लभ रेडपाण्डा (हाब्रे) भेटिएको थियो । नेपालका हिमाली तथा पहाडी क्षेत्रका ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, डोल्पा, जुम्ला, मुगु, कालीकोट र जाजरकोटमा रेडपाण्डा पाइन्छ ।
प्रकाशित: १७ कार्तिक २०८२ १५:५५ सोमबार





