राष्ट्रिय सुरक्षा परिषद्ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली सेना परिचालन गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारस्थित परिषद्को कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको ४१ औँ बैठकले यस्तो निर्णय गरेको हो।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न संविधानको धारा २६६ को उपधारा (१) बमोजिम सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय भएको रक्षा मन्त्रालयका सचिव एवं राष्ट्रिय सुरक्षा परिषद्का सदस्य सचिव सुमनराज अर्यालले जानकारी दिए।
बैठकले राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गर्दै आवश्यक संशोधनका साथ स्वीकृत गरेको छ। सचिव अर्यालका अनुसार उक्त प्रतिवेदन अब राष्ट्रपतिसमक्ष पेस गरिनेछ।
यस्तै, बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौती, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखापरेका पछिल्ला घटनाक्रमले पार्न सक्ने प्रभाव र अपनाउनुपर्ने भावी रणनीतिका विषयमा पनि गम्भीर छलफल भएको परिषद् सचिवालयले जनाएको छ।
बैठकमा प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल र प्रधानसेनापति अशोकराज सिग्देल लगायतको उपस्थिति थियो।
प्रकाशित: ४ मंसिर २०८२ १८:१७ बिहीबार





