रसुवामा आएको भीषण बाढीका कारण तीन प्रहरी चौकीमा क्षति पुगेको छ भने ३५ जना प्रहरी अझै सम्पर्कविहीन छन्। बाढीले प्रहरी चौकी तथा आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार बुधबार बिहान ९ः१५ बजेसम्म रसुवागढी गाउँपालिका २ स्थित इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी र स्याफ्रुबेसी प्रहरी चौकी प्रभावित भएका छन्। तीमध्ये इलाका प्रहरी कार्यालय टिमुरे बाढीका कारण बगेको जनाइएको छ।
टिमुरेमा कार्यरत २५ प्रहरीमध्ये १२ जना सम्पर्कमा आएका छन्। त्यहाँ अझै १३ जना सम्पर्कविहीन छन्। त्यस्तै, रसुवागढी प्रहरी चौकीमा कार्यरत नौ जनामध्ये एक जना मात्रै सम्पर्कमा आएका छन् भने आठ जना सम्पर्कविहीन छन्। स्याफ्रुबेसीमा कार्यरत नौ जनामध्ये चार जना सम्पर्कमा आएका छन् भने पाँच जना सम्पर्कविहीन छन्।
यसरी तीन स्थानमा कार्यरत कुल ४३ प्रहरीमध्ये १७ जना सम्पर्कमा आएका छन् भने २६ जना अझै सम्पर्कविहीन रहेको प्रहरीको प्रारम्भिक विवरण छ। यता, नुवाकोटमा पनि बाढीले त्रिशूली बजार, ढुङ्गे बजार, देवीघाटलगायतका क्षेत्रमा क्षति पुर्याएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। त्रिशूली बजारमा पानीको बहाव बढ्नुका साथै नुवाकोट कारागारमा समेत पानी पसेको छ।
प्रहरीका अनुसार बेत्रावती, टुप्चे तथा त्रिशूली बजार आसपासका क्षेत्रमा समेत बाढीको असर परेको छ। बाढीका कारण नदी वारपार गर्ने विभिन्न पुलमा क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ। जलविद्युत् आयोजनामा भएको क्षतिको विवरण भने अझै स्पष्ट भइसकेको छैन।
धादिङको पृथ्वीराजमार्गस्थित महेशखोलामा समेत डुबान भएको छ। बाढीको बहाव धादिङको गल्छी गाउँपालिका २ मलेखुसम्म पुगेको प्रहरीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले बाढीबाट भएको समग्र क्षतिको यकिन विवरण संकलन हुन बाँकी रहेको जनाएको छ। प्रहरीले प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा अवस्थाको थप विवरण संकलन गर्ने काम भइरहेको जनाएको छ।
प्रकाशित: १० भाद्र २०८३ १३:५६ बुधबार





-600x400.jpg)