१० भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

रसुवा बाढी : हिमताल विस्फोटन वा बाँध फुटेको मौसमविद्को अनुमान

रसुवाको भोटेकोशीमा आएको बाढी हिमताल विस्फोटन वा पहिरोका कारण बनेको अस्थायी बाँध फुट्दा आएको हुनसक्ने वरिष्ठ मौसमविद् उज्वल उपाध्यायले प्रारम्भिक अनुमान गरेका छन्। 

बाढीका विभिन्न भिडियो हेर्दा यसको प्रकृति हिमताल विस्फोटन जस्तो देखिएको उपाध्यायले बताएका छन्। उनले विश्वव्यापी तापक्रम वृद्धि, एल निनोका कारण उच्च वायुमण्डलमा भएको थप तापक्रम वृद्धि तथा हिमतालका बाँधमा हिउँको सट्टा वर्षा हुनुले यस्तो घटना निम्त्याएको हुनसक्ने व्यक्तिगत प्रारम्भिक अनुमान गरेका छन्। 

त्यस्तै, हिजो राति सिन्धुपाल्चोक, रसुवा तथा चीनको तिब्बती क्षेत्रमा भएको ठूलो वर्षाका कारण ठूलो पहिरो गएर अस्थायी बाँध बनेको र उक्त बाँध अचानक फुट्दा भीषण बाढी आएको हुनसक्ने सम्भावनालाई पनि उनले अर्को कारणका रूपमा औँल्याएका छन्।  

यी दुई सम्भावनाबाहेक तत्काल अन्य सम्भावना नदेखिएको भन्दै उपाध्यायले वास्तविक कारण थप अनुसन्धानपछि मात्र यकिन हुने बताएका छन्। 

उनले अहिलेको अवस्थामा बाढीको कारणभन्दा नागरिकको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिएका छन्। रसुवादेखि नुवाकोट हुँदै धादिङको गल्छीसम्म भोटेकोशी, बेत्रावती र त्रिशूली नदी आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन उनले आग्रह गरेका छन्।  

प्रकाशित: १० भाद्र २०८३ १०:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App