१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

रसुवा बाढी : वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज

रसुवा बाढीमा परी घाइते भएका तथा उद्धार गरी वीर अस्पतालमा ल्याइएका सात जनामध्ये पाँच जना उपचारपछि डिस्चार्ज भएका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बाढीमा परी घाइते भएका सात जनालाई उद्धार गरीे ल्याइएकामा पाँच जना उपचारपछि डिस्चार्ज भएका हुन्। 

हाल वीर अस्पतालमा दुई जना घाइतेको उपचार भइरहेको छ । उपचाररत दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाडौं ल्याइएका अन्य १८ जना घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। 

बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ। 

सहायता कक्षमा घाइतेको अवस्थाबारे जानकारी लिन तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ। घाइतेका आफन्तजन अस्पताल पुगेर आफ्ना परिवारका सदस्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका छन्। 

प्रकाशित: १२ भाद्र २०८३ १६:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App