१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml
अर्थ

अत्तोपत्तो छैन ७ सय बढि विदेशी पाहुनाको (अपडेट)

१२१ जनाको उद्धार

भोटेकोशी बाढीमा अलपत्र परेका १ सय २१ जना विदेशी पर्यटकको विभिन्न ठाउँबाट उद्धार गरिएको पर्यटन बोर्डले बताएको छ। बाढीमा परेर अझै स्वदेशी र विदेशी गरि ७ सय २३ जना विदेशी पर्यटक सम्पर्कविहीन रहेका छन्। त्यस्तै नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक पनि सम्पर्कविहीन छन्।  

पर्यटन बोर्डका अनुसार उद्धार भएका मध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन्। ८५ जना भारतीय पर्यटकको उद्धार भएको बोर्डले बताएको छ। त्यस्तै १६ जना चिनियाँ, ९ जना दक्षिण कोरियाका पर्यटकको पनि उद्धार भएको छ।  

त्यसैगरि बाढीमा परेका अमेरिका, रसिया र इटालीका २/२ जना सहित बुल्गेरिया र स्वीजरल्याण्डका १/१ जनाको पनि उद्धार भएको बोर्डको भनाई छ। उद्धार भएका मध्ये ३ जना कुन मुलुकका हुन भन्ने यकिन नभएको बोर्डको भनाई छ।  

राष्ट्रिय विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परेर ७ सय २३ जना विदेशी नागरिक अझै सम्पर्कविहीन रहेका छन। विदेशमा बस्ने र नेपाल आएका नेपाली नागरिक पनि पर्यटकी क्षेत्रमै सम्पर्कविहीन भएको प्राधिकरणको भनाई छ।  

‘सरकारी तहबाट अहिले सम्पर्कविहीन सबै नागरिकको खोजी भईरहेको छ। सम्पर्कविहीन विदेशीका आफन्तले पनि परिवारका सदस्य नेपाल भ्रमणका क्रममा सम्पर्कविहीन भएको भनेर जानकारी दिएका छन,’ पर्यटन बोर्डका प्रवक्ता सुनील शर्माले भने, ‘सबैतिर खोजी जारि छ।’ विभिन्न ट्रेकिङ र ट्राभल एजेन्सीमार्फत ती विदेशी पर्यटकहरु उक्त क्षेत्रको घुमघाममा गएका थिए।  

शर्माका अनुसार विदेशीहरुमध्ये अधिकांश भारतीय पर्यटक त्यही रुट हुँदै तिब्बतको कैलाश मानसरोवर जाने गरेका छन। अरु पर्यटक भने लाङटाङ र रुबी भ्याली क्षेत्रको पदयात्रामा गएको हुनसक्ने उनले बताए। ‘भारतीयहरु कैलाश मानसरोवर र अरु विदेशी लाङटाङ क्षेत्रमा जाने रुटमा क्षति भएको छ,’उनले भने, ‘पर्यटकको अवस्था पहिचानको प्रयास भएको छ।’  

विभिन्न पदयात्रा र ट्राभल कम्पनिले पदयात्रा र कैलाश मानसरोवर पठाएका विदेशी पाहुनाको विवरण लिएर पर्यटन बोर्डमा जानकारी गराएका थिए। पर्यटकसँगै सम्पर्कविहीन भएका नेपाली मध्ये केही पदयात्राका गाइड पनि रहेको बोर्डको भनाई छ।

प्रकाशित: १२ भाद्र २०८३ १६:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App