१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

रसुवा बाढी : ३ हजार २५३ जनाको उद्धार, १५ हजार सुरक्षाकर्मी परिचालन

प्रभावित जिल्लामा राहत व्यवस्थापनका लागि नगद पठाइयो

रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान तीव्र पारिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म ३ हजार २५३ जनाको उद्धार गरिएको छ। उद्धार कार्यका लागि नेपाली सेनाका ६ र निजी क्षेत्रका ९ गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको प्राधिकरणले जनाएको छ।  

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी १५ हजार १०५ सुरक्षाकर्मी परिचालन भएका छन्। तीमध्ये नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बलका ३ हजार ६५५ जना छन्। 

साथै सरकारले बाढी प्रभावित जिल्लामा राहत व्यवस्थापनका लागि नगदसमेत पठाएको छ। प्राधिकरणका अनुसार रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ पठाइएको छ। 

प्रभावित क्षेत्रमा चाउचाउ, बिस्कुट, त्रिपाल, ब्याग, म्याट्रेस र ब्ल्याङ्केटलगायतका सामग्रीसहित १० ट्रक राहत सामग्री र खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको प्राधिकरणले जनाएको छ। थप २० ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको विवरणमा उल्लेख छ।  

प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई निरन्तरता दिन इन्धनको समेत व्यवस्थापन गर्नुको साथै नुवाकोटका विभिन्न आयल स्टोरमा ४१ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात रहेको प्राधिकरणले जनाएको छ। 

त्यस्तैगरी नुवाकोटमा ९ हजार लिटर हवाई इन्धन मौज्दात रहेको र थप आवश्यकता परे पठाउन तयारी अवस्थामा राखिएको छ। 

प्रकाशित: १२ भाद्र २०८३ १३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App