११ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

रसुवा बाढी : लुम्बिनीका १०२ जना सम्पर्कविहीन

रसुवामा आएको विनाशकारी बाढीमा परेर लुम्बिनी प्रदेशका १ सय २ जना सम्पर्कविहीन भएका छन्।

लुम्बिनी प्रदेशको आन्तरिक मामिला, कानुन उद्योग तथा यातायात मन्त्रालय अन्तर्गत रहेको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्रले बिहीबार दिउँसो सम्म संकलन गरेको तथ्यांक अनुसार सो संख्याका व्यक्तिहरू सम्पर्कविहीन भएका हुन्।

सम्पर्कविहीन हुनेमा दाङ, बर्दिया, गुल्मी, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा, रुपन्देही, बाँके लगायत जिल्लाका रहेका छन्।

केन्द्रका सूचना व्यवस्थापन अधिकृत विजयसिंह ठकुरीले लुम्बिनीका विभिन्न जिल्लाबाट आफन्तहरूले नाम टिपाउन क्रममा अहिलेसम्म १ सय २ जना सम्पर्कविहीन रहका पाइएको जानकारी दिए।

‘रसुवाको बाढीमा परेर सम्पर्कविहीन हुनेमा अधिकांश कर्मचारी तथा मजदुरहरू रहेका छन्। लुम्बिनी घर भई त्यहाँ कार्यरत निजामती कर्मचारी र सुरक्षाकर्मी पनि सम्पर्कविहीन भएका छन्,’ ठकुरीले नागरिकसँग भने, ‘हामी कहाँ परिवार र आफन्तले टिपाउनु भएको नामलाई केन्द्रमा पठाउने काम गरिरहेका छौं।’

उनका अनुसार सम्पर्कविहीन भएका व्यक्तिको अवस्था अहिलेसम्म पत्ता लागेको छैन।

बाढी आएको २४ घण्टा बितिसक्दा पनि उनीहरू सम्पर्कमा नआएपछि परिवार तथा आफन्तहरू शोकमा डुबेका छन्। आफ्ना आफन्तलाई अझै पनि जीवितै पाउने आशामा उनीहरू बसेका छन्।

अधिकांश परिवार तथा आफन्तले सम्पर्कविहीन भएका व्यक्तिको फोटो सामाजिक सञ्जालमा राखेर खोजी गरिदिन सरकारसँग माग गरेका छन्।

लुम्बिनी प्रदेशबाट रसुवामा काम गर्न धेरै जना मजदुरहरू गएको पाइएको छ। उनीहरू रसुवामा रहेका जलविद्युत आयोजना, सडक निर्माण लगायतका काममा आबद्ध रहेका थिए।

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ का स्थानीय धनबहादुर चौधरीले आफ्ना भाइ श्यामबहादुर चौधरी पनि रसुवाको बाढीमा परेर सम्पर्कविहीन भएको बताएका छन्। आफ्ना अन्दाजी ४२ वर्षका भाईको खोजी गरिदिन उनले प्रहरी प्रशासनलाई आग्रह गरेका छन्।

अहिलेसम्म प्रहरी प्रशासनमा यसबारे जानकारी नगराएको उनको भनाई छ। आफन्तले श्यामबहादुरको फोटो सहित सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

‘मेरो साइँलो भाइ श्यामबहादुरले रसुवाको हाइड्रो पावरमा काम गर्थ्यो, हामीसँग कुराकानी हुँदा चाइना बोर्डरतिर छु भन्थ्यो,’ नागरिकको सम्पर्कमा आएका धनबहादुरले भने, ‘३÷४ महिनाअघि काम गर्न रसुवा गएको हो, दसैँमा आउने कुरा गर्थ्यो।’

भाइ श्यामबहादुरसँग मंगलबारसम्म फोनमा कुराकानी भएको सुनाउँदै उनले बुधबार बिहानदेखि सम्पर्कमा नआएको बताए। 

प्रकाशित: ११ भाद्र २०८३ १६:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App