गत शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएकी सानीमा क्यापिटल्सकी कर्मचारी रश्मी रिजाल शनिबार काठमाडौंको तारकेश्वर नगरपालिका–१ बालेबासेस्थित चुनीदेवी बालुवा प्रशोधन केन्द्रमा पार्किङ गरिएको आफ्नै विद्युतीय कारभित्र मृत अवस्थामा फेला परेकी छन्।
घटनाको अनुसन्धानका क्रममा प्राप्त सीसीटीभी फुटेजका आधारमा प्रहरीले रश्मीले आफैंलाई आगो लगाएको निष्कर्ष निकालेको जनाएको छ। बीएई ०४१० नम्बरको विद्युतीय कारको पछाडिको सिटमा जलेको अवस्थामा उनको शव भेटिएको थियो। तर कारमा ठूलो क्षति नपुगेको र शव पनि पूर्ण रूपमा जलेको अवस्थामा नरहेकाले घटनाप्रति प्रारम्भदेखि नै परिवारजनले शंका व्यक्त गरेका थिए।
प्रहरीका अनुसार ४५ वर्षीया रश्मी अघिल्लो दिन घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्। काठमाडौंको मनमैजुमा बसोबास गर्दै आएकी र नुवाकोटको बेलकोटगढी नगरपालिका–तादी घर भएकी रश्मी घर नफर्किएपछि परिवारले प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए।
यसक्रममा तारकेश्वरस्थित बालुवा प्रशोधन केन्द्रनजिक शंकास्पद अवस्थामा रोकिएको गाडीबारे प्रहरीलाई सूचना प्राप्त भयो। घटनास्थलमा पुगेपछि उक्त गाडी परिवारले खोजी गरिरहेको गाडीसँग मिलेको पुष्टि भयो। कालो सिसा भएका कारण सुरुमा गाडीभित्र केही देख्न नसकिए पनि ढोका खोलेपछि पछाडिको सिटमा रश्मी मृत अवस्थामा भेटिएकी थिइन्। गाडीको चाबी भने अगाडिको भागमै रहेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले आसपासका सीसीटीभी फुटेज संकलन गरी अनुसन्धान अघि बढायो। काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार फुटेजमा रश्मी आफैं कार चलाएर घटनास्थल पुगेको, गाडी रोकेपछि चालक सिटबाट पछाडिको सिटमा सरेको र त्यसपछि सबै सिसा बन्द गरेको देखिएको छ।
प्रहरीको दाबीअनुसार त्यसपछि उनले आफैंमाथि पेट्रोल छर्किएर आगो लगाएकी थिइन्। गाडीका सबै सिसा बन्द भएका कारण आगो व्यापक रूपमा फैलिन नसकेको र त्यसैले गाडीमा ठूलो क्षति नपुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। शरीरमा देखिएको जलनसँगै अक्सिजनको अभावका कारण मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
यसको यकिन कारण भने पोस्टमार्टम प्रतिवेदनपछि मात्रै खुल्ने जनाइएको छ। आइतबार पोस्टमार्टम सम्पन्न भएपछि परिवारले शव बुझेर अन्त्येष्टि गरेका छन्। यसबीच परिवारले घटनाको निष्पक्ष अनुसन्धान गरी कसैको संलग्नता देखिए कानुनी कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता भएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
प्रकाशित: १२ श्रावण २०८३ १३:१९ मंगलबार





