१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

राप्ती नदी सरसफाइ

फाइल।

हेटाैंडाबाट गोलाघाटसम्म राप्ती नदी सरसफाइ महाअभियान सञ्चालन गरिएको छ।

राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियान चितवनले तेस्रो राप्ती नदी सरसफाइ दिवसका अवसरमा नदीको मुहानदेखि नारायणीको सङ्गमस्थल गोलाघाटसम्म अभियान सञ्चालन गरेको हो।

विगत तीन वर्षदेखि मङ्सिर १ गते राप्ती नदी दिवस मनाउँदै आएको छ। महाअभियानका संयोजक अपिल घिमिरेका अनुसार मकवानपुरको भैँसेबाट प्रारम्भ गरी हेटौँडा हुँदै चितवनको गोलाघाटसम्म ‘राप्ती नदी सरसफाइ महाअभियान’ सञ्चालन गरिएको हो।

सरसफाइ महाअभियान मकवानपुर र चितवन जिल्लाको राप्ती किनारमा विभिन्न १६ स्थानमा आज बिहान ८ः०० बजे एकैसाथ सुरु गरिएको थियो।

चितवनको १३ स्थान र मकवानपुरको तीन स्थानबाट नदी संरक्षणमा लागेका सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका व्यक्तिको उपस्थितिमा सरसफाइ गरिएको हो।

‘राप्ती नदीको शुद्धता हाम्रो प्रतिबद्धता, राप्ती नदीको जलाधार जन्तुहरूको बाँच्ने आधार’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो। विगत ११ वर्षदेखि तटीय क्षेत्रका स्थानीयहरू तटीय स्वच्छता, नदी संरक्षण, नदी अधिकार तथा यहाँ आश्रित जीवजन्तुहरूको हितका लागि निरन्तर पैरवी गर्दै आएका छन्।

यो अभियानमा हालसम्म स्वयम्सेवीका रूपमा २७ हजार जोडिनुभएको छ भने हजारौँ टन फोहर व्यवस्थापन गरिसकेको घिमिरेले जानकारी दिए।

साथै, राप्ती नदी पर्यटकीय क्षेत्रसमेत भएकाले नदी र यस आसपासको सिमसार तथा सामुदायिक वन क्षेत्रमा पनि सरसफाइ कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए।

यसले नदी किनारको सौन्दर्य, जैविक विविधता र स्थानीय पर्यटकीय आकर्षणलाई सुरक्षित राख्न महत्वपूर्ण योगदान पुर्‍याएको उनले विश्वास व्यक्त गरे।

अभियानअन्तर्गत नदी किनार तथा बस्ती आसपासका क्षेत्रहरूको सरसफाइ, फोहर व्यवस्थापन, जनचेतना कार्यक्रम, वृक्षरोपण तथा स्थानीय समुदायको सक्रिय सहभागिता रहेको उनले बताए।

राप्ती नदीले दुर्लभ जलचरहरूको बासस्थान मात्र नभई चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जका बाघ, भालु, गैँडा, हात्ती, कछुवा, घडियाल जस्ता सङ्कटापन्न वन्यजन्तुहरूको जीवन र जैविक विविधताको संरक्षणमा महत्त्व बोकेको छ।

हाल उद्योग, होटल तथा व्यावसायिक क्षेत्रबाट निस्कने फोहर र केही पालिकाहरूले नदी किनारमा फोहर ‘डम्पिङ’ गर्ने अभ्यासले नदी तटीय क्षेत्र फोहोर, प्रदूषित र पारिस्थितिक रूपमा कमजोर बनाएको महाअभियानका संयोजक घिमिरेले जानकारी दिए।

प्रकाशित: १ मंसिर २०८२ १४:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App