राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले रसुवा बाढीमा बेपत्ता भएका श्रीमान्को खोजी गरिदिन सरकारसँग आग्रह गरेकी महिलामाथि सामाजिक सञ्जालमा गालीगलौज भएको भन्दै खेद व्यक्त गरेकी छन्।
उनले शनिबार सामाजिक सञ्जालमार्फत काखमा बच्चा च्यापेर आफ्नो श्रीमान्को खोजी गरिदिन सरकारसँग आग्रह गरिरहेकी महिलाको भिडियो आफूले हेरेको र त्यसपछि सामाजिक सञ्जालमा आएका टिप्पणीहरू पढेको बताएकी छन्।
उनले विपत्तिका कारण ती महिलाको जीवनमा ठूलो संकट आएको र श्रीमान्को अनिश्चितताले मानसिक पीडा थपिएको समेत बताएकी छिन् ।
‘ती दिदीको जीवनमा प्रलय गएको छ, भोलिको अनिश्चितताले मन काँपेको छ,’ दर्शनाले लेखेकी छन्, ‘उनले सरकारलाई गाली पनि गरिरहनुभएको छ, मलाई पनि राम्रो लागेन। तर त्यो गालीभन्दा माथि धेरै पर मनको कुनामा आफ्नो मान्छे फर्केर आउनुहुन्छ भन्ने आशा छ।’
दर्शनाले विपत्तिमा परेका व्यक्तिले आक्रोश वा पीडा व्यक्त गर्नु स्वाभाविक भएको भन्दै त्यस्तो अवस्थामा पीडितमाथि खिसीट्युरी र अशोभनीय टिप्पणी गर्नु गलत भएको बताएकी छन्।
‘हाम्रो जीवनमा अकल्पनीय र अन्यायपूर्ण केही भयो भने भगवान्सँग त हामी रिसाउँछौँ, झोक्किन्छौँ,’ उनले भनेकी छन्, ‘यसरी कसैको पीडामाथि खिसीट्युरी गर्दै अशोभनीय टिप्पणी गरेको हुँदै भएन।’
प्रकाशित: २० भाद्र २०८३ १४:५३ शनिबार





