अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलीले बेलायतको नियन्त्रणमा रहेको फकल्याण्ड टापुहरू अर्जेन्टिनाको नियन्त्रणमा फर्काउन हङकङ हस्तान्तरणको मोडल अपनाउन सकिने बताएका छन्।
उनले बेलायत र चीनबिच भएको सम्झौताको उदाहरण दिँदै फकल्याण्डको विवाद युद्धबाट नभई वार्ताबाट समाधान गर्नुपर्ने बताएका हुन्। ‘बेलायतले हङकङसँग यो गर्यो, त्यसो भए ढिलो वा चाँडो टापुहरू अर्जेन्टिनालाई फर्काउने सम्झौता किन नगर्ने? ती हाम्रा हुन्,’ माइलीले ‘द इकोनोमिस्ट’सँगको अन्तर्वार्तामा भनेका छन्।
बेलायत र चीनबिच १९८४ मा भएको संयुक्त घोषणाअनुसार सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण गरिएको थियो। माइलीले यही सम्झौतालाई फकल्याण्डका लागि सम्भावित कूटनीतिक मोडलका रूपमा प्रस्तुत गरेका हुन्।
फकल्याण्डलाई अर्जेन्टिनाले ‘माल्भिनास’ भन्ने गर्छ। अर्जेन्टिनाले लामो समयदेखि यी टापुमा आफ्नो सार्वभौमसत्ता रहेको दाबी गर्दै आएको छ। सन् १९८२ मा टापु कब्जा गर्ने अर्जेन्टिनाको प्रयासपछि दुई देशबिच युद्ध भएको थियो।
माइलीले फकल्याण्ड वरपर तेल उत्खनन गर्ने कम्पनीमाथि कडा प्रतिबन्ध लगाउने योजना पनि घोषणा गरेका छन्। विवादको केन्द्रमा रहेको ‘सी लायन’ तेल परियोजनामा बेलायती कम्पनी रकहपर एक्सप्लोरेसन र इजरायली कम्पनी नाभिटास पेट्रोलियम संलग्न छन्। अर्जेन्टिनाले यी कम्पनीका गतिविधिलाई अवैध भन्दै कारबाही अघि बढाएको हो।
यो पनि पढ्नुहोस्
फकल्याण्ड्स विवाद : ट्रम्पको टिप्पणीपछि माइलीले भने- अर्जेन्टिना विजयी हुनेछ
यससँगै माइलीले टिएरा डेल फुएगो क्षेत्रमा नौसैनिक आधार निर्माणसहित अर्जेन्टिनाको रक्षा क्षमता विस्तार गर्ने योजना अघि सारेका छन्। उनले फकल्याण्डको विषयमा विश्वमा ‘परिवर्तनका हावा’ अर्जेन्टिनाको पक्षमा चलिरहेको दाबी गरेका छन्।
माइलीको पछिल्लो सक्रियता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिपछि थप बढेको देखिन्छ। ट्रम्पले फकल्याण्ड विवादमा अमेरिकाको दशकौँदेखिको तटस्थ नीति पुनरावलोकन गर्न सक्ने संकेत गरेका छन्। माइलीले ट्रम्पको यो संकेतलाई अर्जेन्टिनाको दाबीका लागि सकारात्मक अवसरका रूपमा लिएका हुन्। यद्यपि अमेरिकाले अर्जेन्टिनाको सार्वभौमसत्ता दाबीलाई औपचारिक समर्थन गरिसकेको छैन।
माइलीको अभिव्यक्तिप्रति बेलायतले कडा प्रतिक्रिया जनाएको छ। विदेशमन्त्री एड मिलिब्यान्डले फकल्याण्डप्रतिको बेलायतको प्रतिबद्धता ‘अटल’ रहेको बताए। उनले टापुका बासिन्दालाई आफ्नो भविष्य आफैं तय गर्ने अधिकार रहेको भन्दै बेलायतले त्यसको समर्थन गर्ने बताएका छन्। सन् २०१३ को जनमतसंग्रहमा फकल्याण्डका ९९.८ प्रतिशत मतदाताले बेलायतसँगै रहने पक्षमा मतदान गरेका थिए।
अर्जेन्टिनामा भने माइलीको कदमलाई लिएर मिश्रित प्रतिक्रिया आएको छ। आलोचकहरूले अर्को वर्ष हुने निर्वाचनअघि घरेलु राजनीतिक दबाबबाट ध्यान हटाउन उनले फकल्याण्ड मुद्दालाई प्राथमिकतामा राखेको आरोप लगाएका छन्। माइलीले भने युद्धको सट्टा वार्ता र दीर्घकालीन सहमतिबाट फकल्याण्ड अर्जेन्टिनामा फर्काउने आफ्नो नीति रहेको बताएका छन्। एजेन्सीको सहयोगमा
प्रकाशित: २० भाद्र २०८३ १४:४७ शनिबार




-600x400.jpg)
