६ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफ्रिकामा फैलिँदै इबोला

नाइजेरियामा इबोला भाइरसको संक्रमण पुष्टि भएपछि अफ्रिकाले थप जटिल प्रकोपको सामना गर्नुपरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अफ्रिका क्षेत्रीय निर्देशक मोहम्मद जनाबीले चेतावनी दिएका छन्।

बिहीबार आयोजित अनलाइन सञ्चारमाध्यम ब्रिफिङमा उनले पूर्वी अफ्रिकाबाट नाइजेरियामा भाइरस प्रवेश गरेको पुष्टि गर्दै यसलाई महादेशको पश्चिमी क्षेत्रमा देखिएको पहिलो घटना भएको बताए।  

नाइजेरियाले मङ्गलबार बुन्डिबुग्यो प्रजातिको इबोला भाइरसबाट एक महिलामा संक्रमण पुष्टि भएको जनाएको थियो। ती महिला कूटनीतिज्ञ रहेको र हालै युगान्डाको भ्रमण गरेर फर्किएका थिए। यही प्रजातिको भाइरसका कारण प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) मा पनि ठूलो प्रकोप फैलिएको छ।

अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको नाइजेरिया यस प्रकोपबाट प्रभावित हुने चौथो अफ्रिकी मुलुक बनेको छ। पूर्वी अफ्रिकाको केन्यामा पनि अक्टोबर ६ यता नौ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।

पछिल्लो घटनाले सन् २०१४ मा पश्चिम अफ्रिकामा फैलिएको विनाशकारी इबोला प्रकोपको स्मरण गराएको छ। सन् २०१३ को अन्त्यदेखि २०१६ सम्म फैलिएको उक्त प्रकोपमा ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो।

यद्यपि, सन् २०१४ मा इबोला प्रकोप सफलतापूर्वक नियन्त्रणमा लिएको अनुभवका कारण नाइजेरियाले यसपटक पनि प्रभावकारी रूपमा प्रतिकार्य गर्न सक्ने अपेक्षा गरिएको छ।

स्वास्थ्य अधिकारीहरूका अनुसार डीआर कङ्गोमा फैलिएको पछिल्लो इबोला प्रकोप देशकै इतिहासमा सबैभन्दा घातक बनेको छ। मे महिनाको मध्यदेखि त्यहाँ नौ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने चार हजार ३८१ जनाको मृत्यु भइसकेको छ।

इबोला भाइरसबाट हुने रोग गम्भीर र कहिलेकाहीँ घातक हुन सक्छ। पछिल्लो संक्रमण विभिन्न देशमा फैलिन थालेपछि स्वास्थ्य अधिकारीहरूलाई यसको थप विस्तार रोक्न चुनौती थपिएको छ। एएफपी

प्रकाशित: ६ कार्तिक २०८३ ०८:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App