६ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
समाज

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा बढ्याे पर्यटकको चहलपहल

म्याग्दीका पर्यटकीयस्थलहरूमा दसैंलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको छ।

अनुकूल मौसम र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत भएपछि चाडपर्वको बिदा मनाउन आएका पर्यटकहरूको चहलपहल बढेको हो। घोडेपानी, पुनहिल, खोपारा, सिंगा तातोपानी, भुरुङ्ग–तातोपानी, अन्नपूर्ण आधार शिविर, रुप्से, गलेश्वर लगायतका पर्यटकीयस्थलमा बिहीबारदेखि पर्यटकको आगमन शुरू भएको स्थानीय व्यवसायीहरूले बताएका छन्।

बेनी नगरपालिका–९ गलेश्वरका होटल व्यवसायी बाबुराम आचार्यले बडादसैँको टिकालगत्तै पर्यटक आगमन बढेको बताए। “असोजको दोस्रो साताको कालीगण्डकी बाढीका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा शून्य जस्तै भएको पर्यटक आगमन बिहीबारदेखि बढ्न थालेको छ,” उनले भने “मर्मतपछि मुस्ताङ जोड्ने सडकमा यातायात सञ्चालन भएकाले दसैँ–तिहारको बिचमा पर्यटक आगमन बढेर थलिएको ब्यापार ब्यवसाय चलायमान हुने अपेक्षा गरेका छौ।”

असोजको ८ देखि ११ गतेदेखिको निरन्तरको झरीपछि पहिरो र कालीगण्डकी बाढीका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड मर्मतपछि असोजको अन्तिम सातादेखि सञ्चालनमा आएको छ। विगतका तथ्याङ्कअनुसार शरदयामको असोज–कात्तिक म्याग्दीमा सबैभन्दा धेरै विदेशी पर्यटक आगमन हुने महिना हो।

अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय स्थल घोडेपानीका होटल व्यवसायी समेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले भोटेकोशी, कालीगण्डकी र बुढीगण्डकी बाढीले विगतका वर्षको संख्यामा विदेशी पर्यटक आउन नसके पनि दसै–तिहारको बिदा मनाउन पदयात्राका लागि आन्तरिक पर्यटकहरूको प्रतीक्षामा रहेको बताए।

“घोडेपानी–पुनहिल–घान्द्रुक पदमार्ग सुरक्षित छ,” उनले भने “बाढी पहिरोले क्षति पुगेको सडक र पदमार्ग मर्मत गरेर यातायात सञ्चालन गर्न सकिने बनाइएकाले पर्यटक आगमन बढ्ने अपेक्षा गरेका छौं।”

घोडेपानी देखि ४५ मिनेट उकालो हिंडेपछि पुगिने समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाईमा अवस्थित पुनहिल सूर्योदय र हिमशृङखला तथा पदयात्राका लागि अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य मानिन्छ।

पदयात्राका साथै बेनी नगरपालिका–४ मा रहेको सिंगा तातोपानी कुण्ड प्राकृतिक उपचार र अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ्ग–तातोपानी कुण्ड पर्यटकीय हिसाबले परिचित छ। म्याग्दी नदीको बाढीका कारण क्षति पुगेको सिंगा तातोपानी कुण्ड मर्मतपछि असोज अन्तिम हप्तापछि सञ्चालनमा ल्याइएको छ।

अन्नपूर्ण चक्रीय पदमार्गको यात्रा र मुस्ताङ जाने–आउने पर्यटकहरूको थकान मेटाउने थलोका रूपमा विकसित अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग–तातोपानी र पाउद्धार तातोपानी कुण्ड सुरक्षित छन्। भुरुङ्ग–तातोपानीका सञ्चालक प्रितम पुर्जाले करिब एक महिनापछि पर्यटक आगमन हुन थालेको बताए।

भुरुङ्ग–तातोपानी अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवेशबिन्दु हो। म्याग्दीको नयाँ पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास भएको यो पदमार्ग पनि विपदबाट बचेको छ। भुरुङ्ग–तातोपानीको होटल व्यवसायी काजी थापाले बिहीबार करिब एक सय ५० जना आन्तरिक पर्यटकरू अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका बताए।

रुप्से झरना परिसरमा चियापसल सञ्चालन गरेकी छुमा पाइजाले करिब एक महिनापछि पर्यटकको चहलपहल हुन थालेको बताइन्। चितवनका रमेश पाण्डेले दसै बिदा मनाउन मुस्ताङ भ्रमणका आएको बताए। बस, जिप, मोटरसाइकल लगायत सवारी साधनमा सहज रुपमा म्याग्दी हुदै मुस्ताङ भ्रमणमा जान सकिने उनले बताए।

मर्मतमा जस्तै क्षतिग्रस्त सडक र पदमार्गहरूको पुनःनिर्माणलाई पनि तीव्रता दिन सकेमा म्याग्दी र मुस्ताङको पर्यटन व्यवसाय पुरानै लयमा फर्काउन सकिने अपेक्षा गरिएको छ। बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले पर्यटकीय याम भएकाले सडक मर्मत गरि सहज रुपमा यातायातको साधन सञ्चालनको वातावरण बनाउन काम भैरहेको बताए।

-सन्तोष गौतम/रासस

प्रकाशित: ६ कार्तिक २०८३ ०७:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App