३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

पर्यटक तान्दै नगरकोटको काखमा ‘रानीझुला’

भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुईवटा वडा जोड्न निर्माण गरिएको ‘रानीझुला’ झोलुंगे पुल अहिले पर्यटकको प्रमुख आकर्षणको केन्द्र बनेको छ।

जंगलको बीचमा अवस्थित पुलले आन्तरिक तथा बाह्य पर्यटक तान्न थालेपछि यस क्षेत्रको आर्थिक गतिविधि नै गुल्जार बनेको छ।

पुल हेर्न र तस्बिर खिचाउन दैनिक सयौंको संख्यामा पर्यटक पुग्न थालेपछि वन उपभोक्ता समूह र स्थानीयले आम्दानीको नयाँ स्रोत भेटाएका छन्।

पर्यटकको भिड बढेसँगै श्री नगरकोट ऐनडाँडा सामुदायिक वन उपभोक्ता समूहले टिकट काउन्टर नै राखेर प्रवेश तथा पार्किङ शुल्क उठाउन थालेको छ।

समूहले प्रवेश शुल्कबापत स्वदेशी पर्यटकसँग २० रुपैयाँ, विदेशीसँग ५० रुपैयाँ र विद्यार्थीसँग १० रुपैयाँ तोकेको छ। पर्यटकको आगमन बढेसँगै गाउँभरिका घरहरूमा होमस्टे सञ्चालन हुने क्रम तीव्र बनेको छ भने बाटोमा साना व्यापार र नाङ्ले पसलहरू फस्टाएका छन्।

चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ र ७ लाई जोड्ने यो पुल एक करोड ६७ लाख रुपैयाँको लागतमा निर्माण भएको हो। २ सय ५० मिटर लामो यस पुलको २०७८ चैत २१ गते तत्कालीन मेयर सोम मिश्रले उद्घाटन गरेका थिए भने २०८० साल जेठदेखि यस क्षेत्रको पर्यटकीय गतिविधिले थप गति लिएको हो।

स्थानीय मणिराम लामिछानेका अनुसार विशेषगरी शनिबार र सार्वजनिक बिदाका दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट युवायुवतीको घुइँचो लाग्ने गरेको छ।

‘पुल दुई वडा जोड्नका लागि मात्र बनाइएको थियो, तर सुनसान जंगलको बीचमा रहेको सुन्दरताले गर्दा अहिले यो पर्यटकीय आकर्षणको केन्द्र नै बन्न पुगेको छ,’ लामिछानेले भने।

सिंगो चाँगुनारायणलाई नै पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्ने नगरपालिकाको लक्ष्यलाई रानीझुला पुलले पनि प्रत्यक्ष रूपमा ठूलो टेवा पुर्‍याएको छ।

प्रकाशित: ३ चैत्र २०८२ २०:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App