भूकम्पबाट हुने जोखिम कम गर्न भूकम्प प्रतिरोधी संरचना निर्माणदेखि जोखिम पूर्व सचेतनाका कार्यक्रमलाई वृहत्त बनाउनुपर्ने ताप्लेजुङमा आयोजित कार्यक्रममार्फत निश्कर्ष निकालिएको छ ।
२८ औं भूकम्प सुरक्षा दिवसको अवसरमा जिल्ला विपद् व्यवस्थापन समितिको संयोजन तथा नेपाल पत्रकार महासंघ ताप्लेजुङद्धारा बुधवार आयोजित सरोकारवालासंगको परिसम्बाद कार्यक्रममार्फत यो निश्कर्ष निकालिएको हो ।
परिसम्बाद कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले भूकम्प प्रतिरोधी संरचना निर्माणमा तीनै तहका सरकारले भवन निर्माण संहिताको उचित कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।
भूकम्पको जोखिमबाट बच्न आवासीय घर तथा भवनहरु भूकम्पको जोखिम सहन गर्ने प्रकृतिका हुनुपर्ने बताउँदै प्रजिअ सेढाइँले जोखिमबाट बच्न मानिसले आफु र आफ्नो परिवारको सुरक्षामा उचित ख्याल गर्नुपर्नेमा जोड दिए । उनले घरमा रहेका सामाग्रीको व्यवस्थापनदेखि घर अगाडि रहेका फुलका ठूला गमलासम्मको नियमित रेखदेख जरुरी हुनेमा जोड दिए । भूकम्प प्रतिरोधी संरचना निर्माण पहिलो प्राथमिकतामा रहने बताउँदै उनले भूकम्प आइसकेपछि जोखिमबाट बच्न अपनाउनुपर्ने सावधानीका उपाय हरेक नागरिकसम्म पुर्याउनुपर्ने दायित्व सरोकारवालाको रहेको उनको भनाई थियो ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमले जिल्लाभर रहेका आफ्ना प्रहरी इकाईमार्फत समेत भूकम्प सहितका जोखिम बिरुद्ध समुदाय सचेतीकरणका कार्यक्रम अघि बढाईरहेको बताए । उनले जिल्ला रेडक्रस सोसाईटी सहितका विपद् उद्धार तथा प्रतिकार्यमा खटिने जनशक्तिसंग सामुहिक सहकार्य गर्न आफुहरु तयार रहेको बताए ।
डिएसपी गौतमले भूकम्प सहितका जोखिमको समयमा प्राप्त हुने सूचनाको विश्लेषण पश्चात राहत र उद्धारका लागि स्थानीय समुदायसंगको सहकार्य अनिवार्य रहेकोमा जोड दिए । यसका लागि जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय विपद् व्यवस्थापन समितिसहितका स्थानीय सरोकारवालासंग समन्वय गर्ने गौतमको भनाई थियो ।
कार्यक्रममा फुङलिङ नगरपालिकाका ईञ्जिनियर आर्दश अधिकारीले भूकम्प प्रतिरोधी संरचना निर्माणलाई ध्यान दिएर नगरपालिका सहितका स्थानीय तहले भवन निर्माण संहिताको पूर्ण पालनामा नागरिकलाई जवाफदेहि बनाएको बताए । नयाँ संरचनामा अनिवार्य रुपले भवन निर्माण संहिताको प्रयोग गरिएको र पुराना संरचनाको अभिलेखीकरण गरी तिनीहरुलाई समेत भवन निर्माण संहिताको मापदण्डमा समावेश गर्ने गृहकार्य भइरहेको उनको भनाई थियो ।
ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका जिल्ला रेडक्रस सोसाईटीका सचिव विकास गौतमले विपद् उद्धार तथा राहतका लागि आफुहरुले प्रतिकार्यमा खटिने टोलीलाई प्राथमिक उपचारको आधारभूत ज्ञान सीप समेत प्रदान गरेको जानकारी दिए ।
गौतमले आपतकालिन राहत तथा उद्धारका लागि जिल्ला रेडक्रस सोसाईटीले खाद्य तथा गैर खाद्य सामग्रीको व्यवस्थापन गर्ने देखि अन्य आवश्यक राहत कार्यका लागि वाणिज्य संघ सहितका निजी क्षेत्रसंग सहकार्य गर्दै आएको बताए ।
कार्यक्रममा पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यले विपद्का बेला चाहिने अत्यावश्यक बिषय सार्वजनिक तथा खुल्ला मञ्च रहेकोमा जोड दिदैं यसको व्यवस्थापनतर्फ समेत सरोकारवालाको ध्यानकृष्ट गरे । पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष आनन्द गौतमले २०४५,२०६८ र २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त आवासीय भवनहरु अझैपनि टालटुल गरेर सञ्चालन भइरहेको भन्दै यसले सम्भावित जोखिमको समयमा निम्त्याउने असुरक्षाप्रति पनि सर्तक रहन आग्रह गरे ।
यसपटक २८ औं भूकम्प सुरक्षा दिवस यही माघ २ गते ‘सबै तहका सरकार,सबै नागरिकको जिम्मेवारी,भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’भन्ने नाराका साथ देशभर मनाइदैं छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवस नेपालमा प्रत्येक वर्ष माघ महिनाको २ गते मनाइन्छ । विक्रम् सम्वत् १९९० माघ २ गते नेपालमा आएको महाभूकम्पको सम्झनामा विक्रम सम्वत् २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।
प्रकाशित: ३० पुस २०८२ १५:२६ बुधबार





