७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

वर्षाको कहरः उदयपुरमा दुईको मृत्यु, सबै सडक अवरुद्ध

शनिबार विहान सवेरैदेखि सुरु भएको अविरल वर्षाले उदयपुरमा एक बालिकासहित २ को ज्यान गएको छ भने बाढी पहिरोको जोखिम बढेको छ । सडक यातायात अवरुद्ध भईसक्दा पहिरो, डुबान र कटानको क्रम तीब्र बढ्दो छ ।  

३६ घण्टायता निरन्तर भईरहेको वर्षाले त्रियुगा नगरपालिका ५ मा खोलाले बगाएर ३ वर्षीया रेविका राईको मृत्यु भएको छ । सिन्धुलीबाट विराटनगरतर्फ जाँदै गरेको हायस माइक्रोलाई कजवेको बाढीले बगाउँदा सिन्धुपाल्चोक मेलम्चीकी ४० वर्षीया मञ्जु अधिकारको मृत्यु भएको छ ।  

अविरल वर्षाकै कारण चौदण्डीगढी नगरपालिका ४ बसाहा मेजर चौतारास्थित सरस्वती खोलाको कजवेले उदयपुरबाट सप्तरीतर्फ गईरहेको  कार बगाएको छ । तर, त्यसमा सवार ६ जना यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।  

वर्षाले स्थानीय त्रियुगा र पूर्वपश्चिम बरुवा बसपार्क जलमग्न भएका छन् । त्रियुगा नदीमा पानीको सतह बढेको छ भने अन्य दर्जन बढी खोला खहरेहरु उर्लेर कटान र डुबानको जोखिम बढ्दै गएको छ । खासगरी चुरे जंगल शिर भएका ससाना खहरेहरुमा पनि बाढी उर्लेर गाउँ बस्तीलाई जोखिममा पारिरहेका छन् ।  

वाढीले भत्काउने, डुबाउने तथा पहिरोले पुर्नेजस्ता समस्याका कारण विभिन्न सकहरु अवरुद्ध भएका छन् । सुनसरीसँगको पूर्वी सीमाना चतारादेखि बेलका, चौदण्डीगढी नगरपालिका, सदरमुकाम त्रियुगा, रौतामाई र उदयपुरगढी गाउँपालिकादेखि पश्चिममा सिन्धुलीसीमाना कटारी नगरपालिकासम्म छोएको मदन भण्डारी लोकमार्ग ठाउँठाउँमा पहिरो खसेर र छेउ भत्केर सुचारु हुन गाह्रो भईरहेको छ। लोकमार्गसँग जोडिएका विभिन्न स्थानीयतह र बजार जाने शाखा सडकहरु पनि भत्के बिग्र यातायात अवरुद्ध भएको छ ।  

पहाडी भेगमा पहिरो र हिलोले आन्तरिक तथा लामो यात्रा रोकिएका छन् ।  तराई र समथर भेगमा डुबान र कटानको समस्या छ । लगातार वर्षाले पहाडी भेगका कच्ची सडकहरु आइतबार विहानदेखि पूर्णरुपमा बन्द भएका छन् । पहाडी सडकहरु सबै कच्ची र नयाँ भएकाले सामान्य वर्षामै पानी जम्ने, पहिरोले पुर्ने तथा खाल्डा खुल्डी पर्ने हुँदा वर्षायाममा गाडी चल्न नसक्ने अवस्थामा पुग्ने गरेका छन् ।  

खासगरी पहाडी भेगका उदयपुरगढी, ताप्ली, रौतामाई, लिमचुङबुङ  गाउँपालिका आन्तरिक सडक सञ्जाल रोकिएको छ । सडक बिग्रेका कारण ताप्ली र लिमचुङबुङको सदरमुकाम गाईघाटसँग सडक सम्बन्ध टुटेको छ । दसैँको मौकामा बाक्लो आउजाउ चलिरहेकै बेला अविरल वर्षाले सडक बन्द भएपछि यात्रुहरु मारमा परेका छन् ।  

लिमचुङबुङ र ताप्ली बिकट पहाडी गाउँपालिका भएकाले ठूला बसहरु चल्न नसकेर बोलेरो जीपहरुको भरमै यात्रु आउजाउ गर्दै आएका छन् । आन्तरिक सडक भत्केकाले मोटरसाईकलसमेत आउजाउ गर्न गाह्रो भईरहेको छ भने सदरमुकाम जोडने मुख्य सडक ठाउँठाउँमा पहिरोले पुरेर र भत्केर यातायात अवरुद्ध भएको छ ।  

रौतामाई र उदयपुरगढीका भित्रि सडकहरु पनि भत्के बिग्रेकाले आन्तरिक आउजाउ गर्न मोटरसाईकलको मात्र भर पर्नुपरेको छ । मदन भण्डारी लोकमार्गसँग जोडिएकाले ती दुई स्थानीयतहलाई भने सदरमुकाम आउजाउ गर्न समस्या छैन ।  

प्रकाशित: १९ आश्विन २०८२ १५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App