मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा आइतबारसम्म वर्षा हुने र सोमबारदेखि मौसममा क्रमिक सुधार आउने जनाएको छ।
महाशाखाका अनुसार शनिबार देशभर अधिकांश बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी र बागमतीका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। शनिबार राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।
आइतबार पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। ती प्रदेशका थोरै स्थानमा भारी वर्षा हुन सक्नेछ भने बागमतीका एक-दुई स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई भू-भागका थोरै स्थानमा हावाहुरी चल्न सक्ने पूर्वानुमान छ।
.jpg)
सोमबारदेखि भने वर्षाको मात्रा घट्ने देखिएको छ। देशभर आंशिक बदली रहने तथा हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। तराईका एक-दुई स्थानमा पनि मध्यमसम्मको वर्षा हुन सक्नेछ। सोमबार राति तराई भू-भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयको जोखिम रहने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायतका क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले मौसमसम्बन्धी पछिल्लो सूचना हेर्न अनुरोध गरिएको छ।
प्रकाशित: १० आश्विन २०८३ ०९:३९ शनिबार





