१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

आइतबार कञ्चनपुरका चार पालिकामा सार्वजनिक बिदा

आइतबार कञ्चनपुरका चार पालिकाले सार्वजनिक बिदा दिएका छन्।  

रानाथारु समुदायको प्रमुख पर्व तीजका अवसरमा यहाँका पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाडी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।  

बेलौरी नगरपालिकाका कार्यवाहक नगरप्रमुख जोगराम चौधरीले पालिकाले हरेक समुदायका पर्वलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै पालिकाले रानाथारुको प्रमुख पर्व तीजका अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताए।  

‘बहुधार्मिक बहुसांस्कृतिक हाम्रो मुलुकमा यस्ता चाडपर्वले सामाजिक एकता र भाइचारालाई बलियो बनाउँछ,’ उनले भने, ‘पर्वलाई तडकभडक नगरी आर्थिक मितव्ययिता अपनाउन आग्रह गर्छु।’

लालझाडी गाउँपालिकाले साउन ११ र १३ गते सार्वजनिक बिदा दिएको छ। गाउँपालिका अध्यक्ष निर्मल रानाले रानाथारु समुदायका महिलाको तीज पर्व र थारु समुदायको गुरही पर्वका अवसरमा सार्वजनिक बिदा दिएको बताए। बेलौरी र पुनर्वास नगरपालिकाले साउन ११ गते सार्वजनिक बिदा दिएको छ।

रानाथारु समुदायका महिलाले श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने गर्छन्। रानाथारु समुदायका जानकारका अनुसार तीज आउनुअघि सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने प्रचलन छ। यसलाई राना समुदायले ‘सावनको डोला’ भन्छन्।

‘अन्य समुदायले श्रीमानको दीर्घायुका लागि तीजको व्रत बस्छन् तर हाम्रो समुदायमा दाजुभाइको दीर्घायुका लागि तीजको व्रत बस्छ,’ रानाथारु समुदायका अगुवा प्रेमवती रानाले भने, ‘हाम्रो समुदायका दिदीबहिनीले माइतमा गएर पिङ खेल्दै दाजुभाइको दीर्घायुको कामना गर्छन्।’ उनका अनुसार रानाथारु समुदायका महिलाले माइतीघरमा व्रत बसेर तीज मनाउने प्रचलन छ।

तीज रानाथारु समुदायको ठूलो पर्व हो। हिन्दू धर्मावलम्बीले भाद्र शुक्ल तृतीयाका दिन तीज मनाउने चलन छ भने रानाथारु समुदायले श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने प्रचलन छ। छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारु समुदायमा तीज पर्व आउन १५ दिनअघि दिदीबहिनीको घरमा गएर निम्तो दिने चलन रहेको उनको भनाइ छ।

यस पर्वलाई खेतीपातीको काम सकिएपछि थकान मेटाउने पर्वका रूपमा मनाइन्छ, स्थानीय चेतराम रानाले बताए। तीज आउनुअघि मनोरञ्जनका रूपमा सावनको डोला (पिङ) खेल्ने प्रचलन छ। यो पर्वमा रानाथारु समुदायका दिदीबहिनीले परम्परागत पहिरनमा सजिएर पिङमा मच्चिँदै माङ्गलिक गीत गाउँछन्। तीजमा महिला दिनभरि पानीसमेत नखाएर आफ्नो दाजुभाइको दीर्घायुको कामना गर्दै व्रत बस्छन्। रासस

प्रकाशित: ९ श्रावण २०८२ १९:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App