अविरल बर्षापछिको बाढी पहिरोबाट क्षति भएका घर कोशी प्रदेश सरकारले पुननिर्माण गरिदिने भएको छ । बुधबार बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो ।
विपतमा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घर तत्कालै बनाउन सुरु गर्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ । घरहरूको सम्पूर्ण विवरण संकलन पनि गर्दै जाने र निर्माण कार्य पनि अगाडि बढाउँदै जाने परिषद बैठकले निर्णय गरेको छ ।
त्यस्तै बैठकले इलाम जिल्लाका सातवटा पालिकालाई संकटग्रस्त घोषणा गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । प्रदेश सरकारले राहत र पुनस्र्थापनाका लागि इलाम जिल्लामा समन्वय गर्न आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीलाई जिम्मा दिएको छ । सो टोलीले सम्पूर्ण क्षेत्रको स्थलगत निरीक्षण गर्दै पुनर्निर्माणलाई फिल्डमै खटेर तीव्रता दिने छ ।
त्यस्तै सुनसरी जिल्लाको हकमा वन पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले समन्वय गरी काम गर्नेछन् ।
झापा जिल्लाका लागि खानेपानी , सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलाई आवश्यक पुनर्निर्माण र सबै खालको समन्वय गर्ने जिम्मेवारी तोकिएको छ । बैठकले चालु बजेटका खर्च र योजनाहरु हेरेर कटौती गरी पुनर्निर्माणमा खर्च गर्नका लागि कोशी प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
भौतिक पूर्वाधार मन्त्रालयले तत्कालै सबै खालका बाटोहरू खुलाउनका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्नका लागि पनि बैठकले निर्देशन गरेको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पुनर्निर्माण र राहतमा कुनै कसर नराखी काम अगाडि बढाउनका लागि बैठकमा निर्देशन दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
विपतमा सम्पूर्ण नागरिक, उद्योगी व्यवसायी, अधिकारकर्मी, राजनीतिक पार्टी, बैंक तथा वित्तीय संस्था र कर्मचारीहरूलाई सहयोग गर्न आह्वान गर्ने समेत बैठकले निर्णय गरेको छ ।
प्रकाशित: २२ आश्विन २०८२ १६:२० बुधबार





