वीरगञ्ज कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु भएपछि वीरगञ्जमा तनाव सिर्जना भएको छ।
नारायणी अस्पतालका डाक्टरले आईसीयू बेड खाली नभएको भन्दै अन्यत्र लैजान रेफर गर्दा पनि प्रहरीले प्रमुख जिल्ला अधिकारी (सीडीओ) को आदेश भन्दै एम्बुलेन्सबाट झारेका कारण उपचार नपाई मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन्।
कर्तव्य ज्यान मुद्दामा ५ वर्षदेखि वीरगञ्ज कारागारमा रहेका वीरगञ्ज महानगरपालिका-२५ का २८ वर्षीय राहुल साह तुरहाको मंगलबार बिहान मृत्यु भएको हो। उनको मृत्युपछि आक्रोशित परिवार र आफन्तले प्रशासनको लापरवाही भन्दै सडकमा टायर बालेर प्रदर्शन गरेका छन्।
परिवारको आरोप: ‘सीडीओको आदेश भन्दै एम्बुलेन्सबाटै झारियो’
मृतक राहुलका काकाका छोरा जगदीश साह तुरहाका अनुसार, बिहानै स्वास्थ्य अवस्था जटिल बनेपछि राहुललाई कारागार प्रहरीले नारायणी अस्पताल पुर्याएको थियो। अस्पतालका डा. उदयनारायण सिंहले राहुलको मुखबाट रगतसहितको फिज आइरहेको र अवस्था गम्भीर रहेकाले तत्काल आईसीयूमा राख्नुपर्ने बताएका थिए।
‘नारायणी अस्पतालमा आईसीयू बेड खाली नभएपछि डाक्टरले अन्यत्र लैजान रेफर लेखिदिनुभयो,’ जगदीशले भने, ‘त्यसपछि हामीले एम्बुलेन्स बोलाएर भाइलाई एम्बुलेन्समा राखिसकेका थियौं। त्यही बेला एक प्रहरी आएर ‘बाहिर लैजान मिल्दैन, सीडीओ सा’बको आदेश छ, यहीँ उपचार गराउनुपर्छ’ भन्दै रोकिदिए।’
उनले थपे, ‘हामीले धेरै गुहार लगायौं तर हाम्रो कुरा सुनिएन। प्रहरी प्रशासनले उपचार गर्न नदिँदा भाइको सही उपचार नपाएर मृत्यु भयो।’ प्रदर्शनकारीहरूले दोषीलाई कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन्।
प्रजिअको दाबी: ‘मैले बेड मिलाइदिएको हुँ, आरोप निराधार छ’
यता, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने परिवारको आरोपलाई अस्वीकार गरेका छन्। उनका अनुसार, राहुललाई कारागारमै हर्ट अट्याक भएको र अस्पताल पुर्याउँदासम्म अवस्था निकै जटिल भइसकेको थियो।
‘अस्पतालको आईसीयू वार्डमा शैया खाली नहुँदा मैले नै चिकित्सकलाई फोन गरेर एउटा बेड खाली गराई बिरामीलाई भर्ना गराउन लगाएको हुँ,’ प्रजिअ अर्यालले दाबी गरे, ‘पहिलेदेखि नै बिरामीको अवस्था जटिल भएका कारण चिकित्सकको हरसम्भव प्रयासका बाबजुद उनको मृत्यु भएको हो।’
डाक्टर के भन्छन् ?
नारायणी अस्पतालका डा. उदयनारायण सिंहले राहुलको मृत्युको कारण ‘पल्मोनरी इडिमा’ (हार्ट फेलियर) रहेको बताए। उनका अनुसार, बिरामीलाई अस्पताल ल्याउँदा अवस्था निकै गम्भीर भइसकेको थियो। ‘अस्पतालले उपचारको लागि प्रयास गरेको हो, तर अवस्था निकै जटिल भइसकेपछि मात्र अस्पतालमा ल्याउँदा कैदी तुरहालाई बचाउन सकिएन,’ डा. सिंहको भनाइ छ।
आफन्तहरूको आन्दोलन जारी रहँदा समन्वयको प्रयास भइरहेको र आफू छलफल गरेर उनीहरूको गुनासो सुन्न तयार रहेको प्रजिअ अर्यालले जानकारी दिए।
प्रकाशित: २७ श्रावण २०८२ १५:०३ मंगलबार





