जुम्ला कारागारबाट भागेका कैदीबन्दी फर्किने क्रम जारी छ। ३६ जना भागेकाहरूमध्ये केहीलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ।
जुम्लाका प्रहरी डिएसपी रबिनबाबु रेग्मीका अनुसार शुक्रबारमात्रै ५ जना कैदीलाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा सन्तोष सार्की, भक्त राज शाही, पुन्न वि.क, डम्बर नेपाली र सुरेन्द्र महत छन्। यस्तै प्रेम राजा महत, दिनेश लावड, हिक्मत गिरी, डिली कार्की, भिमप्रसाद कडायत र हुकुम शाही छन्।
गत मंगलबार राति कारागारमा ४१ जना भागेका थिए। प्रहरीले मंगलबार राति नै ५ जनालाई नियन्त्रणमा लिएर कारागारमा राखिसकेको थियो। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी रविनबाबु रेग्मीले बाँकी कैदीको प्रहरीले खोजी गरिरहेको बताए।
उनले भने, 'एक नाबालकसहित ९८ जना कैदीबन्दी थिए। पाँच जना महिला कैदीबन्दी भने कारागारमै बसेका थिए। उनीहरूले प्रहरी र नाइकेलाई चिर्पट प्रहार गर्दै ढोका फोडेर भागेका हुन्।’ अहिले २५ जना कैदीबन्दी अझै फरार छन्।
डिएसपीले रेग्मीले थपे, ‘अहिले भेटिएकाहरूलाई नियन्त्रणमा लिइरहेका छौं। नभेटिएका कैदीबन्दीका आफन्तहरूको सम्पर्क नम्बर पत्ता लगाएर सम्झाइबुझाइ गर्ने कार्य चलिरहेको छ।’ प्रहरीले भागेका कैदीबन्दी सम्पर्कमा नआएर कैद सजाय बढ्न सक्ने समेत चेतावनी दिइरहेको छ।
जिल्ला प्रशासन कार्यालयले भागेका कैदीबन्दी समयमै फर्किन सार्वजनिक रूपमा अपिल समेत गरेको छ। अहिले जिल्ला कारागार जुम्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेनाले संयुक्त रूपमा सुरक्षा दिइरहेको छ।
प्रकाशित: २८ भाद्र २०८२ ०८:४७ शनिबार





