४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

'जेनजी' आन्दोलनको आडमा भागेका कैदी तथा थुनुवा कारागार फर्कन थाले

गत मङ्गलबार साँझ ‘जेनजी’ आन्दोलनको आडमा महोत्तरी कारागारबाट भागेका कैदी/थुनुवा फर्कन थालेका छन्।  

महोत्तरी कारागार प्रशासनले लहलहैमा भागेका कैदी/थुनुवालाई फर्कन अपिल गरेसँगै बुधबार राति तीन जना फर्केका कारागार कार्यालयका निमित्त प्रमुख रवीनचन्द्र ठाकुरले पुष्टि गरे।

'बुधबार राति तीन जना कारागार आइपुगेका छन्,' ठाकुरले भने, 'अन्य कतिपयले फोन सम्पर्क गरी आउन लागेको बताएका छन्।' भागेकामध्ये अधिकांश कैदी/थुनुवा फर्कने ठाकुरलाई विश्वास बढेको छ। आफूले बुधबार कार्यालयबाटै भागेका कैदी/थुनुवालाई फर्कन गरेको अपिलको सकारात्मक प्रभाव परेको उनको ठम्याइ छ।

'हामीले कैदी/थुनुवालाई तपाईंहरु फर्कनोस्, कुनै सर्त र थप कार्वाही हुँदैन भनेर अपिल गर्यौँँ,' ठाकुर भन्छन्, 'त्यो अपिल सुने/पढेपछि उहाँहरुको मन फिरेको छ, तीन जना आइपुग्नुभयो, अन्य केहीले आउँदैछौँ भन्नुभएको छ।' कारागार कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै भागेका कैदी/थुनुवालाई भागेबापत कुनै सजाय नगरिने जनाउँदै २४ घण्टाभित्र आइपुग्न अपिल गरेको थियो। सो अपिलमै स्वेच्छाले नफर्कनेको हकमा खोजी गरेर भेट्टाइँदा थप सजाय गरिने उल्लेख गरिएको थियो।

यसैगरी, मङ्गलबार साँझ जेनजी आन्दोलनको आडमा कारागार भत्काएर भागेका ५७६ जनामध्ये भारतिर पस्ने क्रममा १० जना भारतीय पुलिसको नियन्त्रण रहेका खबर फैलिएको छ। यसबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सीमावर्ती भारतीय सुरक्षाकर्मीसँग बुझेर आवश्यक प्रक्रिया अघि बढाइने कारागार प्रमुख ठाकुरको भनाइ छ।

प्रकाशित: २६ भाद्र २०८२ १४:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App