चाडपर्वको समयमा चितवन राष्ट्रिय निकुञ्जभित्र आपराधिक क्रियाकलाप बढी हुने गरेको तथ्यांक छ। त्यसमाथि गैंडासँग सम्बन्धित मुद्दामा कारागारमा रहेका कैदीबन्दी यतिखेर फरार रहेकाले संरक्षणमा चुनौती थपिएको चितवन राष्ट्रिय निकुञ्जको निष्कर्ष छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले आपराधिक समूह बाहिर हुँदा वन्यजन्तुको चोरी सिकारी हुने सम्भावना बढी रहेको बताए।
‘अहिले सजाय पाएका कैदीबन्दी बाहिर छन्। उनीहरू फेरि सलबलाउन सक्छन्,’ डा. पन्तले भने, ‘यसलाई मध्यनजगर गदैै हामीले सुरक्षालाई कडाइ गरेका छौं।’
चितवनको भरतपुर कारागारमा गैंडासँग सम्बन्धित मुद्दाका ४८ कैदीबन्दी थिए। जेनजी आन्दोलनको मौका छोपेर भदौ २५ गते बिहान ती सबै कैदीबन्दी भागेका थिए। भागेका मध्ये १४ जना फर्किएका छैनन्। संवेदनशील अवस्थालाई बुझेर सुरक्षाका लागि पूर्वतयारी गरिरहेको उनले बताए।
अहिले जिप सफारीका लागि निकुञ्ज खुलाउने तयारी गरिएको छ। फूलपातीअघि जिप सफारीका लागि अनुमति दिने गरी काम भइरहेको उनले बताए। त्यसका लागि जिप दर्ता गर्न थालिएको उनले बताए। ‘गत साल सञ्चालन भएका जिपलाई मात्र यस वर्ष नवीकरण गरिँदै छ,’ उनले भने, ‘यहाँको सुरक्षालाई व्यवस्थित गरेर निकुञ्ज खुलाउँछौं।’
असार १६ गतेदेखि जिप सफारी बन्द गरिएको थियो। निकुञ्जभित्र सौराहाबाट ३२, कसराबाट १६, मेघौलीबाट नौ जिप सञ्चालन हुने गर्छन्। यस्तै उजौलीबाट दुई, अमलटारीबाट पाँच र माडीबाट एउटा जिपले निकुञ्जभित्र सफारी गर्ने गर्छन्।
चितवन प्रशासनले सूचना निकालेर कारागारबाट बाहिरिएका सबै कैदीबन्दीलाई तत्काल फिर्ता हुन निर्देशन दिएको थियो। त्यसयता पाँच सय ६२ जना कैदीबन्दी फर्किएका छन्। तर वन्यजन्तु, लागुऔषध, कर्तव्य ज्यान, सहकारी ठगीसम्बन्धी अधिकांश व्यक्ति नफर्किएको भरतपुर कारागारका प्रमुख रवीन्द्र ढुंगानाले जानकारी दिए। उनका अनुसार एक सय ८२ जना फिर्ता हुन बाँकी छ। चितवन कारागारबाट सात सय ४० जना कैदिबन्दी भागेका थिए।
कालीबहादुर खामको केन्द्रीय कारागार सरुवा
भरतपुर काराकागरमा रहेका नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खामलाई केन्द्रीय कारागारमा स्थानान्तरण गरिएको छ। जेनजी आन्दोलनका क्रममा भागेका खाम भदौ ३० गते भरतपुर कारागार फर्किएका थिए। यहाँको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै उनलाई असोज १ गते केन्द्रीय कारागारमा स्थानान्तरण गरिएको ढुंगानाले जानकारी दिए। एमालेनिकट व्यवसायी रामहरि श्रेष्ठको हत्याका मुख्य योजनाकार भनिएका खामलाई जिल्ला अदालत चितवनले २०८० चैत २३ गते पुर्पक्षका लागि चेल चलान गर्ने आदेश दिएको थियो।
२०६५ भदौ १५ मा कोटेश्वरबाट व्यापारी रामहरि श्रेष्ठको अपहरण भएको थियो। श्रेष्ठलाई अपहरण गरेर चितवनको शक्तिखोरस्थित तत्कालीन माओवादी लडाकु शिविरमा राखिएको थियो। व्यापारी श्रेष्ठलाई खामको निर्देशनमा अपहरण गरी शक्तिखोर पुर्याइएको थियो। माओवादी लडाकुहरूले कुटपिट गरी गम्भीर घाइते बनाएर श्रेष्ठलाई फालेका थिए। २०६५ वैशाख २८ मा नारायणी नदीमा व्यापारी श्रेष्ठको शव भेटिएको थियो।
प्रकाशित: ११ आश्विन २०८२ १३:१६ शनिबार





-600x400.jpg)