४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

जितिया पर्वमा राष्ट्रपति पौडेलद्वारा सुख, शान्ति र समृद्धिको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्व, २०८२ को सुखद अवसरमा सबै नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्।  

जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु, मधेशी र केही अन्य समुदायका महिलाहरूले आफ्ना सन्तान र परिवारको दीर्घायु, सुस्वास्थ्य, सफलता र शान्ति र सुख समृद्धिका लागि भगवान जिमुतवाहनको पूजा आराधना गर्दै मनाउने पर्व हो। यस पर्वको अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन महिलाहरू कठोर उपवास बसी शरीर, मन र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकारहरू बनाई खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ।  

बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त विशेषताले भरिपूर्ण नेपालमा मानवीय जीवन र भविष्यका लागि मार्गदर्शक यस्ता मौलिक पर्वहरूले बेग्लै पहिचान स्थापित गर्दै आएको राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

जितिया पर्वको माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सद्भाव, पारिवारिक एकता र प्रेम, महिलाप्रतिको श्रद्धा र आस्था, मौलिक संस्कृतिको संरक्षण र निरन्तरता र आपसी सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधतालाई संरक्षण गरेको आफूले महसुस गरेको उनले सन्देशमा व्यक्त गरेका छन्।  

यस पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याई आपसी सद्भाव र सहिष्णुता कायम गर्न सफलता मिलोस् भन्ने कामना उनले सन्देशमार्फत गरेका छन्।

प्रकाशित: ३० भाद्र २०८२ ०६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App