विराटनगर महानगरपालिका क्षेत्रभित्र जग्गाको कित्ताकाट खुलाउने प्रक्रिया अघि बढेको छ। भू–उपयोग क्षेत्र वर्गीकरणको प्रक्रिया पूरा गरी महानगरपालिकाले आवश्यक विवरण नापी कार्यालयमा पठाएपछि कित्ताकाटसम्बन्धी काम अघि बढाउने बाटो खुलेको हो।
महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका १९ वटै वडाको भू–उपयोग क्षेत्र वर्गीकरणसम्बन्धी अन्तिम प्रतिवेदन तयार गरी कार्यान्वयनका लागि नापी कार्यालय, विराटनगरमा पठाइसकेको छ। यससँगै कित्ताकाट खुलाउन आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा भएको महानगरपालिकाले जनाएको छ।
विराटनगर महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले २०८३ कात्तिक २७ गते नापी कार्यालयलाई पत्र पठाउँदै भू–उपयोग क्षेत्र वर्गीकरणसम्बन्धी विवरण तथा प्रतिवेदन कार्यान्वयन गर्न अनुरोध गरेको हो।
नगर कार्यपालिकाको २०८३ असोज २३ गतेको निर्णयअनुसार भू–उपयोग परिषद्बाट स्वीकृत आधार र मापदण्डका आधारमा तयार पारिएको विवरण नापी कार्यालयमा पठाइएको महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाले वर्गीकरणसम्बन्धी अन्तिम प्रतिवेदनसँगै १९ वटै वडाको विवरण समेटिएको विद्युतीय तथ्याङ्क फाइल तथा तथ्याङ्क भण्डारण प्रणालीसम्बन्धी आवश्यक कागजातसमेत नापी तथा भूमि प्रशासन कार्यालयलाई उपलब्ध गराएको छ।
कित्ताकाट खुलाउने प्रक्रियासँगै महानगरपालिकाले जग्गासम्बन्धी सेवालाई प्रविधिमैत्री र व्यवस्थित बनाउने तयारीसमेत अघि बढाएको छ। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आगामी एक महिनाभित्र भू–सेवा सञ्चालनमा ल्याउने लक्ष्यसहित आवश्यक तयारी तीव्र पारिएको बताएका छन्।
उनका अनुसार भू–सेवा सञ्चालनमा आएपछि जग्गासम्बन्धी प्रशासनिक काम थप व्यवस्थित, पारदर्शी र छिटोछरितो हुनेछ। सेवाग्राहीले अनावश्यक झन्झट र समय खर्च गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने महानगरपालिकाको योजना छ।
भू–उपयोग क्षेत्र वर्गीकरणको प्रक्रिया सम्पन्न भएपछि लामो समयदेखि प्रभावित बनेको जग्गाको कित्ताकाट प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ। महानगरपालिकाले पठाएको विवरणका आधारमा नापी तथा सम्बन्धित भूमि प्रशासन निकायबाट आवश्यक प्रक्रिया पूरा भएपछि विराटनगरमा कित्ताकाटको काम सञ्चालनमा आउनेछ।
प्रकाशित: २७ कार्तिक २०८३ १८:५९ शुक्रबार


-600x400.jpg)


