ललितपुरको धापाखेलस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको नागदहमा सोमबार लाग्ने परम्परागत नागपञ्चमी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ।
मेलालाई भव्य, स्वच्छ र सुरक्षित बनाउन ११ वटा विषयगत उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ। ललितपुर महानगरपालिका-२४ का वडाध्यक्ष एवं नागदह विकास तथा संरक्षण समितिका अध्यक्ष दिनेशजङ्ग पाण्डेका अनुसार सोमबार बिहान ४ बजेदेखि नै भक्तजनका लागि पूजाअर्चना तथा दर्शनको व्यवस्था मिलाइएको छ।
सुरक्षा, सरसफाइ, गङ्गा आरती, पूजा, ट्राफिक तथा बजार व्यवस्थापनका लागि विभिन्न सुरक्षा निकाय, विद्यालयका स्काउट र स्थानीय स्वयंसेवकहरूलाई परिचालन गरिनेछ।
यस्तै, स्वास्थ्य उपचारका लागि धापाखेल हेल्थपोस्ट, रेडक्रस र सुमेरु अस्पतालको सहकार्यमा प्राथमिक उपचार कक्ष तथा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ।
मेलाको परम्पराअनुसार सोमबार बिहान पुजारी शिव गिरीको घरबाट बहुमूल्य गरगहनासहितको पित्तलको नागको प्रतिमा बाजागाजासहित नागदहमा ल्याएर विशेष पूजा गरिनेछ।
दिनभरको पूजाआराधनापछि राति पुनः सो प्रतिमालाई बाजागाजासहित पुजारीकै घरमा फर्काएर राखिने अध्यक्ष पाण्डेले जानकारी दिए।
वासुकी नागको बासस्थान मानिने नागदहमा दर्शन र स्नान गरेमा मनोकाङ्क्षा पूरा हुने, घरमा सुखशान्ति मिल्ने, अन्नबाली सप्रने तथा छालासम्बन्धी रोग निको हुने जनविश्वास रहिआएको छ।
मेला भर्न उपत्यकाका धापाखेल, झरुवाराशी, चापागाउँ, ठैव, हरिसिद्धी, लुभु, लेले, गोदावरी, छम्पी, सातदोबाटो तथा आसपासका जिल्लाहरूबाट हजारौँ भक्तजनको घुइँचो लाग्ने गर्दछ।
करिब ५२ रोपनी क्षेत्रफलमा फैलिएको यो प्राकृतिक दहको समग्र गहिराइ २५ फिट र मध्यभागमा ४१ फिट रहेको छ भने दहको चौडाइ ९३७ मिटर छ।
आदिकालमा उपत्यका जलमय हुँदा मञ्जुश्रीले चोभार र बाँडेगाउँको पहाड काटेर पानी बाहिर पठाएपछि नागराजाको बसोबासका लागि यो दह निर्माण गरिएको किंवदन्ती छ।
राष्ट्रिय सिमसार क्षेत्रको सूचीमा समेत रहेको नागदह विभिन्न प्रजातिका पन्छीहरूको बासस्थान पनि हो।
नागपञ्चमी र ऋषिपञ्चमीमा विशेष मेला लाग्ने यस ऐतिहासिक क्षेत्रलाई ललितपुर महानगरपालिकाले प्रमुख पर्यटकीय गन्तव्यका रूपमा संरक्षण र प्रवर्द्धन गरिरहेको छ।
प्रकाशित: ३१ श्रावण २०८३ १९:५१ आइतबार





