सुनसरी–मोरङको सीमा इटहरीस्थित बुढीगंगा–जमुना मुक्तिधाममा छठ पर्व मनाउने तयारी तीव्र पारिएको छ । छठ पर्व सेवा समितिले मंगलबार पत्रकार सम्मेलन गरी यस वर्षको छठ पूजाको तयारी तीब्र पारिएको जनाएको हो ।
सुनसरीको इटहरी उपमहानगरपालिका र मोरङको सुन्दरहरैँचा नगरपालिकाका बासिन्दाले मनाउने छठ पर्वले यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको प्रतीकका रूपमा पहिचान बनाउँदै गएको समितिले जनाएको छ ।
समितिका अनुसार इटहरीमा छठ पर्व व्यवस्थित ढंगले ३६ वर्षदेखि मनाउने गरिएको छ । त्यसअघि पनि सामान्य ढंगले छठ पर्व भने मनाउने गरिएको थियो ।
छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई संस्थागत गर्न मुक्तिधाममा मन्दिर निर्माणसमेत गरिएको छ । छठ पर्वका अवसरमा देशका विभिन्न जिल्ला तथा पालिकाबाट समेत श्रद्धालु भक्तजनहरुले घाट बुकिङ् गरिरहेको आयोजक समितिका अध्यक्ष बासुदेव कर्णले बताए । उनका अनुसार ६५० भन्दा बढी पूजा घाट निर्माण गरिएको छ । पूजा घाट निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
पाँच दिनसम्म मनाइने पर्वको पहिलो दिन कात्तिक २६ गते बिहीबार व्रतालुहरूले लसुन, प्याज, कोदो र मुसुरोको दाल नखाई शुद्ध शाकाहारी भोजन ग्रहण गर्छन्।
दोस्रो दिन कात्तिक २७ गते नजिकैको नदी, पोखरी, नहर, खोला वा जलाशयमा नुहाएपछि प्रसादका रूपमा तयार पारिएको मौसमी तरकारी र अरवा चामलको भात खाने चलन छ। यस दिनलाई ‘नहाय खाय’ भनिन्छ।
तेस्रो दिन व्रतालुहरूले घरको पूजा कोठालाई गोबर र माटोले लिपपोत गरी शुद्ध बनाएर भगवान्को पूजा आराधना गर्छन्। यस दिनलाई ‘खरना’ भनिन्छ। खरनाको विशेषता भनेको पूजा नसकिएसम्म परिवारका सदस्य, आफन्त र टोलवासी बाहिरै प्रतीक्षा गरेर बस्नु हो। पूजा सम्पन्न भएपछि सर्वप्रथम व्रतालुले प्रसाद ग्रहण गर्छन्। त्यसपछि मात्र उपस्थित सबैलाई प्रसाद वितरण गरिन्छ। यही समयदेखि व्रतालुको निराहार व्रत विधिवत् रूपमा सुरु हुन्छ।
चौथो र पाँचौँ दिन छठको मुख्य पूजाका लागि विशेष तयारी गरिन्छ। चौथो दिन जलाशयमा सामूहिक रूपमा भेला भएर अस्ताउँदो सूर्यलाई जल र दूधको अर्घ दिइन्छ। पाँचौँ दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ महापर्व सम्पन्न हुन्छ।
छठ पर्वलाई व्यवस्थित बनाउन समितिले विभिन्न १० वटा उपसमिति गठन गरेको छ। अर्थ संकलन समितिको संयोजकमा रामहृदय राय, पूजा घाट व्यवस्थापन समितिमा मनोजकुमार चौधरी र लिलम्बर चौधरी, भण्डारा व्यवस्थापनमा राजेश अग्रवाल तथा युवा एवं स्वयंसेवक परिचालन र सांस्कृतिक व्यवस्थापन समितिमा गोपीलााल भगतलाई संयोजकको जिम्मेवारी दिइएको छ।
त्यसैगरी प्रचारप्रसार समितिमा मुकेशकुमार चौधरी, प्रसाद व्यवस्थापनमा हरिओम भगत, मञ्च व्यवस्थापन तथा साउण्ड सिस्टममा प्रविण साह, शोभायात्रा तथा मन्दिर पूजा व्यवस्थापनमा रीता कुमारी साह, अतिथि सत्कारमा वासुदेव साह र प्राथमिक उपचारमा डाक्टर सञ्जय साहलाई संयोजक तोकिएको छ।
छठ पर्वको पूजा व्यवस्थापनका लागि इटहरी उपमहानगरपालिकाको नेतृत्वमा छुट्टै सहयोग समिति गठन गरिएको छ। पर्वमा एक सय जना स्वयंसेवक परिचालन गरिनेछ भने सुरक्षाका लागि २५ जना सेक्युरिटी गार्ड खटाइने समितिले जनाएको छ। आवश्यकताअनुसार सुनसरी र मोरङबाट थप सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको आयोजक समितिका सचिव मुकेश चौधरीले बताए ।
त्यस्तै, यातायात व्यवस्थापनका लागि कोशी प्रदेश यातायात व्यवस्थापन कार्यालय तथा ट्राफिक प्रहरी कार्यालय इटहरीसँग समन्वय गरिनेछ। पर्वमा नेपाली सेनाको ब्याण्डसहितको झाँकीसमेत प्रस्तुत गर्ने तयारी गरिएको छ।
समितिका अनुसार छठ पर्व व्यवस्थापनका लागि २९ लाख ५१ हजार रुपैयाँ खर्च हुनेछ। पर्वमा सहभागी हुने भक्तजनका लागि विभिन्न सेवा तथा सुविधाको व्यवस्था गरिएको छ।
धार्मिक तथा सांस्कृतिक कार्यक्रम, निःशुल्क महाप्रसाद वितरण, नागरिक सहायता कक्ष र प्राथमिक उपचार सेवा दुई–दुई स्थानमा सञ्चालन गरिनेछ।
त्यस्तै पर्याप्त विद्युत्, निःशुल्क चियापानी, अस्थायी शौचालय तथा भक्तजनलाई वारिपारि आवतजावत गरी मेला भर्न सहज होस् भनेर चार स्थानमा अस्थायी पुल निर्माण गरिने समितिले जनाएको छ।
प्रकाशित: २४ कार्तिक २०८३ १०:५२ मंगलबार





