२४ कार्तिक २०८३ मंगलबार
image/svg+xml
समाज

मिर्गौलाले काम गर्न छाडेपछि प्रिजलको उपचारका लागि परिवारको हारगुहार

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका चार वर्षीय प्रिजल मगरको दुवै मिर्गौलाले काम गर्न छाडेपछि परिवार उपचारका लागि आर्थिक सहयोग जुटाउन अपिल गरिरहेको छ।

पेशलकुमार मगर र दुर्गा आले मगरका एक मात्र सन्तान प्रिजल ११ दिनदेखि काठमाडौंस्थित कान्ति बाल अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत छन्।

गत कात्तिक १२ गते सामान्य बान्ता गरेका प्रिजलको स्वास्थ्य अवस्था एकाएक बिग्रिएपछि कात्तिक १३ गते अस्पताल भर्ना गरिएको थियो।

विद्यालय भर्ना भएर भर्खरै अक्षर चित्र थालेका प्रिजलको दुवै मिर्गौलाले काम गर्न छाडेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन्। अस्पताल भर्ना भएको भोलिपल्टदेखि आईसीयूमा राखेर उपचार भइरहेको उनको अवस्था चिन्ताजनक रहेको परिवारले जनाएको छ।

अस्पताल भर्ना भएदेखि पिसाबसमेत नगरेका प्रिजलको उपचार नेपालमा सम्भव नभएको चिकित्सकले बताएको उनका बुबा पेशलकुमारले बताए।

दिनप्रतिदिन स्वास्थ्य बिग्रँदै गएपछि कान्ति बाल अस्पतालले थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित सर गङ्गाराम अस्पताल लैजान सुझाएको उनले बताए।

भारत लगेर बेलैमा उपचार नगराए छोराको ज्यान जोखिममा पर्ने चिकित्सकले बताएको पेशलकुमारले बताए। “आफूसँग भएको र आफन्तसँग सापटी लिएको रकमले उपचार गरिरहेका छौँ। यहाँ उपचार सम्भव नहुने भनिएको छ। भारत लगेर उपचार गर्ने खर्च हामीसँग छैन”, उनले भने, “भारतको अस्पतालमा उपचार गर्न एक करोड रुपैयाँभन्दा बढी लाग्ने बुझिएको छ। यति ठूलो रकम कसरी जुटाउने? सबैले सकेको सहयोग गरेर हाम्रो छोराको ज्यान बचाइदिन अनुरोध गर्दछौँ।”

प्रिजलको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गर्दै सामाजिक सञ्जालमार्फत ‘प्रिजल मगर बचाऔँ’ अभियान सञ्चालन गरेको छ।

परिवारको आर्थिक अवस्थाले उपचार खर्च धात्र नसक्ने भएपछि सहयोग सङ्कलन अभियान सुरु गरिएको अभियानका सदस्य गिरिराज रानामगरले बताए।

अभियानका सदस्यले आफन्त तथा शुभेच्छुकलाई सामाजिक सञ्जाल र प्रत्यक्ष भेटघाटमार्फत सहयोगका लागि आग्रह गरिरहेका छन्। सहयोग गर्न चाहनेका लागि प्रिजलका बुबा पेशलकुमारको राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको खाता नम्बर २२७०१००००३१९००१० र क्यूआर कोड उपलब्ध गराइएको छ।

तिहारका समयमा छोराको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि परिवार चिन्तित छ। प्रिजललाई गुणस्तरीय शिक्षा दिलाउने उद्देश्यले पेशलकुमार र दुर्गा काठमाडौँमा कोठा भाडामा लिएर बस्दै आएका थिए।

अस्पतालको प्रतिवेदनबाट छोराको दुवै मिर्गौलाले काम गर्न छाडेको थाहा पाएपछि उनीहरू थप चिन्तित छन्।

तिहारमा भाइटीका लगाउन खार्मीस्थित घर जाने तयारीमा रहेका पेशलकुमार र दुर्गा अहिले छोराको उपचारका लागि भारत लैजाने तयारीमा जुटेका छन्।

दशैँमा घर नआएका छोरा, बुहारी र नाति तिहारमा आउने प्रतीक्षामा रहेका प्रिजलका हजुरबुबा–हजुरआमा नातिको स्वास्थ्यमा जटिल समस्या देखिएको खबरपछि दुखित भएका छन् भने उनीहरूले सहयोग गरिदिन अपिल गरेका छन्।

प्रकाशित: २४ कार्तिक २०८३ १०:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App