१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

कालीकाेटमा निर्वाचनको सबै तयारी पूरा, १२८ मतदान केन्द्रमा टोली तैनाथ

कालिकोटमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना स्थललाई सुरक्षित र पारदर्शी बनाउन कडा सुरक्षा व्यवस्था अपनाइएको छ।

जिल्ला समन्वय समितिको सभाहलमा तय गरिएको मतगणना स्थलमा तारजाली र सिसिटिभी क्यामेरा जडान गरिएको हो।

एक मात्र निर्वाचन क्षेत्र रहेको कालिकोटमा गणना कार्यलाई विवादरहित बनाउन यस्तो व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले जानकारी दिए।

‘गणना स्थललाई सुरक्षित र पारदर्शी बनाउनका लागि हामीले तारजालीको घेराभित्र सिसिटिभी क्यामेराको निगरानी रहने व्यवस्था मिलाएका छौं।’ उनले सुनाए।

बिहीबार हुने निर्वाचनका लागि जिल्लाभरको सुरक्षा व्यवस्था चुस्त पारिएको छ। प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको एकीकृत टोली परिचालन गरिएको जानकारी दिए।

‘सुरक्षा निकायको समन्वयात्मक परिचालन गरेका छौं,’ प्रजिअ सुयलले भने, ‘मतदानका लागि आवश्यक जनशक्ति र सुरक्षा प्रबन्धसहित सबै तयारी पूरा भएको छ।’

निर्वाचन सामग्रीसहित सुरक्षाकर्मी र कर्मचारीहरू सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन्। मतदान अधिकृतहरूले राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिसँग आचारसंहितालगायतका विषयमा छलफल गरी मतदानका लागि अन्तिम तयारी अवस्थामा रहेको जानकारी दिए।

निर्वाचन सम्पन्न गराउन जिल्लाभर ७ सय ५७ कर्मचारी खटिएका छन्। कालिकोटमा १ सय २७ स्थायी र १ वटा अस्थायी गरी कुल १ सय २८ वटा मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: २० फाल्गुन २०८२ १८:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App