२७ भाद्र २०८३ शनिबार
image/svg+xml
समाज

‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम : ७२ वर्षीया भुन्टी विकलाई नागरिकता

फाइल तस्बिर

बैतडीको दशरथचन्द नगरपालिका-१ पितलथलाकी भुन्टी विकले ७२ वर्षका उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन्।  

प्रमुख जिल्ला अधिकारी मीना अर्यालले सात दशक बढी उमेर बितिसक्दा नागरिकताविहीन सुस्त मनस्थितीकी विकलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेकी हुन्। नागरिकता नहुँदा विक राज्यबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्तालगायतका सेवासुविधाबाट वञ्चित हुँदै आएकी थिइन्। न्युन आर्थिक अवस्था र सुस्त मनस्थितीका कारण जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकता लिन सक्ने अवस्था नभएपछि उनलाई विहीबार वडा कार्यालयमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रजिअ अर्यालले बताइन्।

जिल्ला प्रशासन कार्यालयले ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम अन्तर्गत अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई घर तथा पायक पर्ने स्थानमा पुगेर नागरिकता प्रदान गरिरहेको छ। यसअघि गएको विहीबार दशरथचन्द नगरपालिका-६ की मानसिक अपाङ्गता भएकी अस्मिता पन्तलाई उनको घरमै पुगेर नागरिकता प्रदान गरिएको थियो।

कार्यक्रम अन्तर्गत जिल्लाभरीका नागरिकताबाट वञ्चित अशक्त तथा अपाङ्गता भएका व्यक्तिको विवरण सङ्कलनको काम भइरहेको कार्यालयले जनाएको छ। 'नागरिकताबाट वञ्चित त्यस्ता नागरिकलाई सकेसम्म उनीहरुकै घरमा अथवा वडा कार्यालयमा नागरिकता प्रदान गर्ने हिसाबले काम भइरहेको छ,', प्रमुख जिल्ला अधिकारी अर्यालले भनिन्। रासस

प्रकाशित: २७ भाद्र २०८३ ०७:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App