२७ भाद्र २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

अक्षरको उद्घाटन

सामयिकी

लेख्नेहरू सबै लेखक हुँदैनन्। त्यसो त लेख्ने काम गर्नेहरूलाई सम्बोधन गने शब्द - ‘लेखक’ नै हो। तर, साहित्यिक दृष्टिकोणले ‘खास लेख्ने’ लाई मात्रै लेखक भन्ने गरिन्छ, अन्यथा लेख्न त तमसुक पनि लेखिन्छ नै। जब कुनै खास लेखले मन छुन्छ, त्यसले मन तुलबुल बनाउँछ। जिज्ञासा उत्पन्न हुन्छ– यस्तो गहन लेख कसरी लेखियो होला ? त्योभन्दा पनि अर्को प्रश्न उब्जन्छ– किन लेखियो होला ?

पढ्ने सिलसिलामा जब म कुनै गहन लेख्न पढ्न पाउँछु, मन त्यसै–त्यसै प्रफुल्ल हुन्छ। हलुका... चङ्गा हुन्छ मन। त्यो यसकारण पनि कि बजारमा निकै चर्चा चलेपछि–चलाइएपछि पढ्न सुरु गरिएका कतिपय आकर्षक आवरणीय किताबहरू दुई पृष्ठ नपढी मैले बन्द गर्नुपरेको छ। किनकि  त्यस खालका किताबहरू पढ्न बस्दा केवल लेख्नका लागि मात्रै लेखिएका रहेछन् भन्ने महसुस हुने गरेको छ।

वास्तविक साहित्य–लेखन यत्तिकै हुँदैन, त्यसप्रति सबैभन्दा मुख्यतः पूरै लगाव चाहिन्छ। अनि, ठुलो तपस्या चाहिन्छ, साधना चाहिन्छ। लेखक छवि वैरागी लेख्छन्– ‘साधना भनेको केवल धेरै लेख्नु होइन। धेरै मेट्नु पनि हो।’

कति गहिरो भाव! मनभित्रैबाट नआई कसरी व्यक्त गर्न सकिन्छ यस्तो भाव ? आफूलाई मेट्नु वा अहम् त्यागेर लेखनमा तल्लीन हुन सक्ने अर्थात् यस्तो गहन विचार अभिव्यक्त गर्न सक्ने कलमका धनी व्यक्तित्व केवल लेखक मात्रै होइनन्, चिन्तक हुन् भन्ने लाग्छ मलाई।

वैरागी मिठा शब्द तर तितो लाग्ने सत्यता उद्घाटन गर्छन्– ‘शब्दको गर्भाधानभन्दा पुरस्कारको प्रसूति चाँडो भएको छ।... हिजोआज आत्मप्रदर्शनको आतिसबाजीलाई साहित्यको उज्यालो ठानिएको छ।’

हुन पनि साहित्यमा अनावश्यक चर्चा/परिचर्चा, आत्मविज्ञापनले साहित्यिक बजार पूरै रङ्गिएको छ।

लेखन भन्ने विषयब यत्तिकै हुँदैन। त्यसमा पनि हतारको साहित्य झनै विसङ्गतपूर्ण हुन्छ। वैरागीको भाषामा– शब्दहरूलाई जोडजाड गरेर कविताको उपमा दिँदैमा ती कविता हुँदैनन्। उनी प्रस्टै प्रहार गर्छन्– ‘दुईचार कविता लेखेपछि कवि, केही अनुच्छेद कोरेपछि चिन्तक, केही अनुयायी जुटेपछि युगनिर्माता... भएँ भन्ठान्छन्।’

यस खालका विकृतिहरू अहिले गल्ली–गल्ली, चोक–चोक मात्रै होइन, हरेक चियापसल भनौं या खास गरी भट्टीपसलमा छ्याप्छ्याप्ती पाइन्छन्।

वैरागीले महसुस गरेकोजस्तो अनुभूति हामीले पनि गरिरहेकै छौं। अहिले धेरैले किताब पढ्नुभन्दा बकबक बोल्न सिकेका छन्। गहिराइमा पुगेर केही बुझ्नुभन्दा आफू देखिन सिकेका छन्। माथि पनि भनियो, साधना छँदै छैन भने पनि हुन्छ, त्यसो दाँजोमा कहाँ हो कहाँ बढी उद्घोषण गर्न सिकेका छन्। यही तथ्यलाई पुष्टि गर्न यहाँनेर अर्को सत्य उद्घाटन गरिएको छ– ‘सामाजिक सञ्जालमा अक्षरको सङ्ख्या बढेको छ तर अक्षरको आयु घटेको छ। शब्दहरू जन्मिएका छैनन्, उत्पादन गरिएका छन्। विचारहरू अनुभूतिबाट आएका छैनन्, प्रचलनबाट टिपिएका छन्।’

यस्तो अवस्थामा चिन्ताजनक प्रश्न उठ्नु स्वाभाविक छ– के, यसरी साहित्यको उत्थान हुन्छ ? जवाफ प्रस्ट छ– पक्कै हुँदैन, यस प्रकार त साहित्यको अधोगति निश्चित छ। साहित्य भन्नु खास अर्थमा अनुभूतिलाई अभिव्यक्त गर्नु हो। तर, त्यस्तो अभिव्यक्ति मनपरी हुनु हुँदैन।

वास्तवमा साहित्य एउटा कला हो। त्यो कला बेनियम चल्दैन। वैरागी इतिहासको हवाला दिँदै भन्छन्– ‘साहित्यको इतिहास हेर्दा एउटा अद्भुत नियम देखिन्छ। जति ठुलो लेखक उति ठुलो मौन। जति गहिरो चिन्तक उति कम आत्मप्रचार।’

यो त्यसै भनिएको होइन। वैरागी बारम्बार अभ्यासलाई जोड दिँदै दोहोर्‍याउँछन्– ‘अभ्यास नगर्ने लेखकभन्दा खतरनाक अरू कोही हुँदैनन्।’

उनले भनेजस्तै त्यस्ता लेखकहरू अज्ञानी हुन्छन् र तिनीहरू आफ्नो अज्ञानतालाई नै सर्वोत्तम उपलब्धि भन्ठान्छन्। वैरागी अत्यन्तै आकर्षक बिम्ब प्रयोग गर्छन्– ‘त्यस्तो लेखक आफ्नो प्रतिध्वनिलाई जनमत ठान्छ। आफ्नै प्रशंसाको धुवाँमा उभिएर आफूलाई हिमाल देख्न थाल्छ।’

कति हास्यास्पद कुरा ! हिमाल के कुनै ठट्टाको विषय हो ? वैरागी विचारकका रूपमा प्रस्तुत हुन्छन् - ‘हिमाल घोषणा गरेर हिमाल भइँदैन। हिमाल बन्न हजारौं वर्षको मौन, असङ्ख्य वर्षाको प्रहार, हिमपातको धैर्य र भूगर्भको अग्नि चाहिन्छ।’

उपर्युक्त अर्थमा, साँचो लेखक बन्न हिमालजत्तिकै चरित्र–विशेषता चाहिन्छ। उसका लागि पुरस्कारको अर्थ छैन, तालीको अर्थ छैन, भिडको अर्थ छैन, छ त लेखनको अर्थ छ, त्यो पनि सशर्त अभ्यासपूर्ण लेखनको। समग्रमा, निचोड यही नै हो कि अभ्यास नै लेखनको मूल तत्त्व हो।

साहित्यको सन्दर्भमा ध्यान दिनुपर्ने अर्को महत्त्वपूर्ण विषय हो– ईर्ष्याविहीनता। सच्चा लेखकले अरू लेखकको डाह/  ईर्ष्या /रिस गर्दैन। सके दोस्रो लेखकलाई सह्राहना गर्नु, त्यति गर्न नसक्ने हो भने कमसेकम विरोध नगर्नु, त्योभन्दा पनि अझै ईर्ष्याचाहिँ गर्दै नगर्नु, यस्ता चरित्र त आजका लेखकको रगतमै पाइँदैन तर मानवीय प्रवृत्ति नै यस्तो छ कि आफूलाई लेखक भन्नेहरूको दिल–दिमाग कतिसम्म अभिमानले भरिएको छ भने प्रत्यक्ष–अप्रत्यक्ष भनिरहेकै हुन्छन्– मैलेभन्दा राम्रो कसैले लेखेकै छैनन्, लेख्नै सक्तैनन्। वैरागी यहाँ पनि अत्यन्त बिम्बात्मक भाषामा प्रश्न गर्छन्– ‘सूर्यले कहिल्यै उज्यालोको विज्ञापन गर्छ ? गंगा नदीले कहिल्यै आफ्नो पवित्रता प्रचार गर्‍यो ? हिमालयले कहिल्यै आफ्नो उचाइको प्रेस–विज्ञप्ति निकाल्यो ?’

आखिर कसैले राम्रो लेखेको छ भने त्यसको प्रशंसा गर्न केको आइतबार ? तर, यहाँ त्यस्तो गर्ने गरेको कहीं देखिन्न। ठिक विपरीत, आफू राम्रो लेख्न सक्तैनन् तर गर्छन् राम्रो लेख्नेको ईष्र्या। यो चरित्रको वैरागी विश्लेषण गर्छन्– ‘जो मानिसमा जलन उत्पन्न हुन्छ, उसले वास्तवमा अरूबाट होइन, आफ्नै अपूर्णताबाट जलिरहेको पत्तै पाउँदैन। ईष्र्या भनेको अरूको उज्यालोको समस्या होइन, आफ्नै दीप निभेको स्वीकार गर्न नसक्ने मनको अन्धकार हो।’

तिनले बुझ्नुपर्ने, आफूले राम्रो नलेखेसम्म दोस्रा लेखकहरूसँग केको प्रतिस्पर्धा ? वैरागी बडो मिठो व्यङ्ग्य कस्छन्– ‘हिमाल काटेर मैदान अग्लो हुँदैन। आफ्नै धरातल उचाल्नुपर्छ।’

उनी थप्छन्– ‘अर्काको उज्यालो निभाएर आफ्नो कोठा कहिल्यै उज्यालो हुँदैन। अर्काको पुस्तक च्यातेर आफ्नो पुस्तक अमर हुँदैन। अर्काको प्रतिष्ठा घटाएर आफ्नो उचाइ बढ्दैन।’

कलम समाउनेलाई कम्तीमा यो हेक्का त हुनै पर्छ कि अक्षरको संसारमा बाँच्न चाहनेहरूले अक्षरको सम्मान गर्न जान्नुपर्छ किनकि अक्षर भनेको धेरै उचाइको विषय हो। यस अर्थमा पनि अक्षरसँग खेलाँची गर्नु हुँदैन। अक्षरलाई जिस्क्याएको उसले मन पराउँदैन। अक्षर आफ्नै लयमा हिँड्छ। उस्तै परे आगो हुन सक्छ अक्षर, आँधी बन्न सक्छ।

 कलाको जस्तै अक्षरको पनि आफ्नै नियम हुन्छ। वैरागी प्रस्ट्याउँछन्– ‘अक्षरको संसारमा पनि ऋतु हुन्छ। बिउले अङ्कुर हुन समय चाहिन्छ। अङ्कुरले वृक्ष हुन समय चाहिन्छ। वृक्षले फल दिन अझ धेरै समय चाहिन्छ।’

तर, यसको विपरीत आजका मान्छेहरू बिउ छर्नासाथ फल खोजिहाल्छन्। खोई, किन अनभिज्ञता जाहेर गर्छन् मान्छे समयको विधानसँग ? समयको प्रवाहलाई किन बुझ्दैनन् मान्छेहरू ? वैरागी स्वयंले प्रश्न गरेजस्तो– के समयलाई आत्मसात् नगर्नेहरू वा एक हिसाबले– समयसँग झगडा गर्ने बिउ कहिल्यै रुख बन्न सक्छ ? कहिल्यै वन बन्न सक्छ ?

इतिहास नबुझ्नेहरूले समयको मूल्य कदापि बुझ्न सक्तैनन्। यस्तो अवस्थामा अक्षरको परिभाषालाई तिनले कसरी केलाउन सक्लान् र ! अक्षरको उज्यालोलाई अक्षरैमार्फत शब्द–शब्दमा किरण फ्याँक्न सक्ने ऊर्जा बोकेका शब्दकार छवि वैरागी घिमिरेलाई उनकै अन्तिम पङ्क्तिद्वारा अभिवादन ! ‘इतिहासले केवल त्यही अक्षरलाई अमर बनाएको छ, जसले आफूलाई जलाएर अरूका लागि उज्यालो दिएको छ।’

प्रकाशित: २७ भाद्र २०८३ ०७:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App