१४ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

पोखरा ल्याइएका १०२ मध्ये ८७ शवको पोष्टमार्टम

रसुवा बाढीका कारण मृत्यु भई पोखरा ल्याइएका शवमध्ये ८७ वटा शवको पोष्टमार्टम गरिएको छ । 

भोटेकोशी नदीमा आएको बाढीका कारण मृत्यु भएका रसुवासहित विभिन्न जिल्लाबाट पोखरा ल्याइएका १०२ वटा शवमध्ये ८७ वटा शवको पोष्टमार्टम सकिएको कास्की प्रशासनले जनाएको छ । बाँकी १५ वटा शवको पोष्टमार्टम सोमबार गरिने जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए ।

पोष्टमार्टम गरिएका ८७ वटा शवमध्ये १५ वटा शव आफन्तलाई बुझाइसकिएको प्रशासनले जनाएको छ । आफन्तले शव पहिचान गरेकाले उनीहरुलाई शव बुझाइएको सहायक प्रजिअ बरालले बताए । अन्यको पनि शव पहिचानका लागि आफन्तहरुसँग सम्पर्क भइरहेको उनले बताए । पोष्टमार्टमका लागि विशेषज्ञसहितको चिकित्सक टोली खटाइएको छ भने सो टोलीले चुस्त ढंगले पोष्टमार्टम गरिरहेको प्रशासनको भनाई छ । पोष्टमार्टम सोमबार सकिन्छ,उनले भने,‘पोष्टमार्टम सकिएका शवको पहिचानका लागि आफन्तलाई सम्पर्क गरिरहेका छौं । उहाँहरु पनि सोमबार सम्ममा सम्पर्कमा आईसक्नु होला ।’

आफन्त सम्पर्कमा नआए शव व्यवस्थापनको वैकल्पिक उपाय अप्नाउने प्रशासनको तयारी छ । सकभर आफन्तलाई सम्पर्क गरेर शव पहिचानका लागि आग्रह गर्ने हो,उनले थपे,‘तर कथमकदाचित आफन्त सम्पर्कमा नआए वैकल्पिक उपाय अप्नाउँछौं ।’ वैकल्पिक उपाय भनेको शवलाई खाल्डो खनेर व्यवस्थापन गर्ने भन्ने रहेको उनको प्रष्टीकरण छ ।

पोखरामा ल्याइएका अधिकांश शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । जसको क्षमता ७२ वटाको हो । तर क्षमताभन्दा बढी शव आएपछि मणिपाल शिक्षण अस्पतालमा ९ वटा शव पठाइएको छ । जहाँ ७ जना वयस्क र २ जना बालबालिकाको शव राखिएका छन् ।

शव पहिचानका लागि अस्पतालमा आफन्तको भीड लाग्दै आएको छ । प्रशासनले मृतकको आफन्तलाई सहजीकरण गर्न हेल्पडेस्क नै सञ्चालन गरेको छ । सो हेल्पडेस्कमार्फत आफन्तलाई शवको विवरण उपलब्ध गराउनेदेखि हस्तान्तरण प्रक्रियालाई व्यवस्थित गराउनेसम्मको कार्य हुँदै अस्पताल प्रशासनले जनाएको छ ।

पोखरामा तनहुँबाट २३ वटा शव, गोरखाबाट ११ वटा, नवपरासी पूर्वबाट ४१ वटा र धादिङबाट २७ वटा शव ल्याइएको थियो ।

प्रकाशित: १४ भाद्र २०८३ १९:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App