२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

हुलाकी सडक: बाँके र दाङ खण्ड निर्माण थाल्ने तयारी

बाँकेको राप्ति सोनारी-१ स्थित खोकरी गाउँमा हुलाकी सडक निर्देशनालयले निर्माण गर्ने भनिएको पुरानो सडक सरसफाई गर्दै स्थानीय।

हुलाकी राजमार्ग निर्देशनालयले बाँकेको राप्ति सोनारी गाउँपालिका-३ नारायणपुरबाट दाङको राजपुर गाउँपालिका जोड्ने खण्ड निर्माणको प्रक्रिया अगाडी बढाउने भएको छ ।  

यो खण्डभित्र सडक निर्माण गर्दा रुखविरुवामा ठूलो क्षति पुग्ने दाबी गर्दै मुद्दा परेपछि निर्देशनालयले ठेक्का प्रक्रिया अगाडी बढाउन सकेको थिएन । सो खण्डमा सडक निर्माण नहुँदा हुलाकी राजमार्ग अधुरै रहने निस्कर्षसहित निर्माणको प्रक्रिया अगाडी बढाइने हुलाकी सडक निर्देशनालय, आयोजना कार्यालय नेपालगन्जका प्रमुख लिलाबहादुर भण्डारीले बताए ।  

यो खण्डमा निर्माण कार्य अगाडी बढाउन स्रोत सुनिश्चितताको लागि सम्बिन्धित निकायमा फाइल पेस गर्ने प्रक्रिया अगाडी बढाइएको र स्रोत सुनिश्चितता पश्चात ठेक्का ब्यवस्थापनको काम गरिने उनले सुनाए।  

नारायणपुर-राजपुर खण्ड निर्माण गर्न निर्देशनालयले केही वर्षअघि नै गुरुयोजना(डीपीआर)तयार गरिसकेको छ । गुरुयोजनाअनुसार यो खण्ड निर्माण गर्न करिव ६ अर्ब रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ ।

प्रमुख भण्डारीकाअनुसार यो खण्डको करिव ३५ किलोमिटर सडक निर्माणको काम सम्पन्न गर्न झण्डै ४ वर्ष समय लाग्नेछ । सडक खण्डमा करिव १५ वटा पुलनिर्माण गर्नुपर्ने देखिएको छ । खण्डको ३५ किमी क्षेत्रमध्ये करिव आधा अर्थात् १८ किमी जंगल क्षेत्र छ ।  

‘हाम्रो कार्य क्षेत्रमा हुलाकी सडकको काम लगभग सकिएको छ, तर बाँके र दाङ जिल्लालाई जोड्ने मुख्य सडकको कामनै बीचमा रोकियो,’ भण्डारीले नागरिकसँग भने ।  

छोटो दूरी र सहजताका कारण निर्माण सम्पन्न भईसकेको स्थानमा सर्वसाधारणले हिडडुल गर्न र सवारी साधनले हुलाकी सडक नै प्रयोग गर्ने गरेको बताए ।  

निर्देशनालयले दाङको कालाकाटेबाट गढवा हुँदै राजपुर गाउँपालिका कार्यालयको मुख्य प्रशासनिक भवनसम्म सडक निर्माण सम्पन्न भईसकेको जनाएको छ । त्यस क्षेत्रका कतिपय स्थानमा निर्देशनालयले पुल समेत बनाइसकेको छ ।  

बाँकेको नारायणपुरबाट दाङको राजपुर सम्मको करिव ३५ किमी खण्डको स्रोत सुनिश्चितता प्राप्त गर्ने तयारी अवस्थामा निर्देशनालय रहेको भण्डारीले बताए । 

प्रकाशित: १८ भाद्र २०८२ २०:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App