जुम्लाका केही स्थानीय तहले विदेशबाट फर्किएका युवालाई उद्यमी बनाउने पहल सुरु गरेका छन्। उनीहरूलाई पहिलोपटक उद्यमशीलता तालिम प्रदान गर्न थालिएको हो। जुम्लाको तातोपानी र सिंजा गाउँपालिकाले वैदेशिक रोजगारीमा लामो समय बिताएका युवाको अनुभव र सीपलाई स्वदेशमै प्रयोग गर्न उद्यमशीलता तालिम दिन थालेका हुन्।
यो पहल केवल तालिममा सीमित नभई वर्षौँदेखि स्थापित “विदेशिनु नै विकल्प” भन्ने मान्यतालाई चुनौती दिने प्रयासका रूपमा पनि हेरिएको छ। श्रम बजारमा अवसरको अभावका कारण बाध्य भएर बाहिरिएका युवालाई अब आफ्नै गाउँमै सम्भावना देखाउने प्रयास सुरु भएको छ।
यसैबीच, सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले भने, ‘केही युवाले लामो समय विदेशमै बिताएका छन्। उनीहरूले सिकेको सीप स्वदेशमै प्रयोग गर्न उद्यमशील बनाउन खोजिएको हो। यसले उनीहरूलाई गाउँमै रोजगारी सिर्जना गर्ने अवसर प्रदान गर्नेछ।’
उनका अनुसार विदेशमा सिकिएको व्यवहारिक ज्ञान-निर्माण, सेवा, व्यवस्थापन वा साना व्यवसाय सञ्चालनसम्बन्धी-अब स्थानीय अर्थतन्त्रसँग जोड्ने आधार तयार पारिँदैछ।
पहिलो चरणमा सिंजा गाउँपालिकाले २० र तातोपानी गाउँपालिकाले २० जना युवालाई उद्यमशील बनाउने लक्ष्य लिएका छन्। संख्या सानो देखिए पनि स्थानीय तहले यसलाई ‘पाइलट मोडेल’ का रूपमा अघि बढाएका छन्, जसको सफलताले आगामी दिनमा थप युवालाई समेट्ने अपेक्षा गरिएको छ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंका अनुसार स्थानीय उत्पादनमा आधारित साना उद्योग तथा व्यवसाय सञ्चालनमार्फत आयआर्जन वृद्धि गर्न युवालाई परिचालन गरिनेछ। उनले भने, ‘युवाजति बेरोजगार छन् भन्ने भाष्य छ। अब विदेशमा सिकेको सीप स्वदेशमै प्रयोग गरेर युवा उद्यमी बनाउने अभियान सुरु भएको छ।’
उनका अनुसार जुम्लामा कृषिजन्य उत्पादन, जडीबुटी, पर्यटन तथा घरेलु उद्योगका क्षेत्रमा प्रशस्त सम्भावना भए पनि त्यसलाई व्यावसायिक रूपमा विस्तार गर्न सीप र लगानीको अभाव थियो। विदेशबाट फर्किएका युवामा यी दुवै पक्षको आधार भएकाले उनीहरूलाई लक्षित गर्दै कार्यक्रम ल्याइएको हो।
दुवै स्थानीय तहले इच्छुक युवालाई ७ दिनभित्र पालिकामा सम्पर्कमा आउन आग्रह गरेका छन्। समयसीमा तोक्नुको उद्देश्य कार्यक्रमलाई छिटो कार्यान्वयनमा लैजानु रहेको जनाइएको छ।
‘विदेशबाट फर्किएकाहरूको सीप र अनुभव खेर जान दिँदैनौँ,’ अध्यक्ष चौलागाईंले भने, ‘अब गाउँमै रोजगारी सिर्जना गरेर पुनः विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्ने योजना छ।’ उनका अनुसार यो पहल सफल भएमा वैदेशिक रोजगारीबाट फर्किने युवाको लहरलाई गाउँमै रोक्न सकिने विश्वास गरिएको छ।
वैदेशिक रोजगारीको अनुभव स्थानीय स्तरमा प्रयोग गर्दै उद्यमशीलता प्रवर्द्धन गर्ने योजना पनि रहेको उनले बताए। अनुभवको अभावका कारण केही गर्न नसकेका युवालाई हौसला दिन र उद्यमशीलतामा आकर्षित गर्न तालिमको व्यवस्था गरिएको हो। यसले फर्किएका युवामात्र होइन, गाउँमै रहेका अन्य युवालाई पनि प्रेरित गर्ने अपेक्षा गरिएको छ।
यसका लागि सरकारी तथा गैरसरकारी निकायसँग लागत साझेदारीका लागि समन्वय भइरहेको छ। नवीनतम ज्ञान र सीपमा आधारित व्यवसाय स्थापना तथा सञ्चालनका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई अनुदान र सहुलियत ब्याजदरमा उद्यमी कर्जा उपलब्ध गराउने नीति पनि स्थानीय तहले लिएका छन्। यसले उद्यम सुरु गर्दा देखिने प्रारम्भिक वित्तीय जोखिम घटाउने विश्वास गरिएको छ।
उद्यमशीलता तालिममा सहभागी हुन इच्छुक युवाले आवेदन फाराम, नेपाली नागरिकताको प्रतिलिपि, वैदेशिक रोजगारीबाट फर्किएको प्रमाणस्वरूप पासपोर्ट, भिसा वा श्रम स्वीकृतिमध्ये कुनै एकको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो लगायतका कागजात पेस गर्नुपर्नेछ।
छनोट भएका युवालाई पालिका र संघ–संस्थासँग समन्वय गरी बिनाब्याज ऋणसमेत उपलब्ध गराइनेछ। साथै, पालिकाका अन्य विकास निर्माण तथा रोजगार प्रवर्द्धनका कार्यक्रममा तालिम लिएका युवालाई प्राथमिकता दिइने जनाइएको छ।
यस कार्यक्रमलाई ग्रामीण अर्थतन्त्र पुनर्जीवनसँग पनि जोडेर हेरिएको छ। विदेशबाट फर्किएका युवाको सीप गाउँमै उपयोग हुन थालेमा यसले व्यक्तिगत आय मात्र होइन, समग्र स्थानीय बजार, उत्पादन प्रणाली र रोजगारी संरचनामा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
प्रकाशित: ५ चैत्र २०८२ १४:२७ बिहीबार





