२१ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

दुई महिने छोरी बोकेर अजयलाई पर्खिरहेकी पूजा भन्छिन्: मेरो बेबी सकुशल फर्केर आऊ

खोज तथा उद्धारको पहल गरिदिन आग्रह

‘बेबी, मलाई थाहा छ तपाईं हुनुहुन्छ, आउनुहुन्छ । मेरो र नानीको लागि भए पनि तपाईं आउनुहुन्छ। भगवानले तपाईंलाई जति नै ठूलो कष्ट र परीक्षामा राख्नुभएको भए पनि, अब धेरै भयो भगवान्।

हे भगवान्, अब मेरो बुढोलाई यो कष्टको परीक्षाबाट मुक्त गरिदिनुहोस्। उहाँ जहाँ हुनुहुन्छ, जसरी हुनुहुन्छ, सुरक्षित र सकुशल राखिदिनुहोस्। भगवान्, अब ढिला नगरिदिनुहोस्। मेरो बुढोलाई सकुशल हामीमाझ फर्काइदिनुहोस्।

मलाई अरू केही चाहिँदैन भगवान्, मेरो बुढो सुरक्षित फर्केर आओस्, मेरो नानीले आफ्ना बाबालाई देख्न पाओस्। यही मेरो प्रार्थना हो। हे भगवान्, अब धेरै कष्ट नदिनुहोस् । मेरो संसारलाई सकुशल घर फर्काइदिनुहोस्।’

यो वेदना हो एउटी आमाको, जसले १२ दिनदेखि सम्पर्कविहीन आफ्नी दुई महिनाकी छोरीको बाबाको अवस्थाबारे पर्खाइमा बसेकी। उनलाई श्रीमान्‌‌को कुनै पनि खबर पाउन नसक्दा आफ्नो संसार नै उजाड र बन्जर भएको छ। उनी आफ्नो लागि मात्र नभइ आफ्नी सानी छोरीका लागि भए पनि श्रीमान्‌ घर फर्किनु भन्दै दिनरात भगवानसँग कामना गर्छिन्।

अजय र पूजाले करिब एक वर्षअघि विवाह गरेका थिए। विवाहपछि उनीहरूको जीवनमा नयाँ खुसी थपियो। केही समयअघि मात्र उनीहरूको घरमा छोरी जन्मिइन्। छोरी जन्मिएको खुसी राम्ररी सेलाउन नपाउँदै रसुवाबाट आएको बाढीको खबरले त्यो परिवारलाई शोक, चिन्ता र अनिश्चितताको घेरामा पुर्‍याएको छ।

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीपछि श्रीमान्‌ सम्पर्कविहीन भएपछि जनकपुरकी पूजा शाह १२ दिनदेखि उनको पर्खाइमा छिन्। रसुवास्थित माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजना (२१६ मेगावाट) कार्यरतमा उनका श्रीमान्‌ धनुषाको कमला नगरपालिका–६ का ३० वर्षीय इन्जिनियर अजयप्रसाद सिंह बाढीपछि बेपत्ता भएका हुन्।

श्रीमान्‌‌को अवस्थाबारे हालसम्म कुनै स्पष्ट जानकारी नआएपछि पूजा आफ्नी सानी छोरीसँगै उनी सकुशल फर्किने आशामा दिनरात प्रतीक्षा गरिरहेकी छन्।

अजय कार्यरत क्याम्प आसपास, विशेषगरी पश्चिम–उत्तर दिशातर्फको क्षेत्रमा अझै सघन खोजी हुन नसकेको उनको गुनासो छ। उनले मैलुङ बजार आसपासका डाँडा, मैलुङ डाँडा तथा ठाडे/डाँडे गाउँलगायत सम्भावित क्षेत्रमा हेलिकप्टर, ड्रोन र स्थलगत खोज तथा उद्धार टोली परिचालन गर्न सरकारसँग आग्रह गरेकी छन्।

‘हेलिकप्टर मात्र पठाएर हुँदैन, सेना तथा उद्धार टोलीलाई त्यहाँ उतारेर क्याम्प र पश्चिम–उत्तर क्षेत्रका सम्भावित स्थानमा स्थलगत रूपमा खोजी गरिदिनुपर्छ,’ उनले भनेकी छन्।

पूजाले कम्पनीबाट कर्मचारीहरूको अवस्थाबारे समेत स्पष्ट विवरण प्राप्त हुन नसकेको बताउँछिन्। उनका अनुसार कम्पनीले सरकारलाई एकमुष्ट ८ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको जानकारी भए पनि कम्पनीको तर्फबाट हेलिकप्टरमार्फत उद्धारका लागि पहल गर्न खोज्दा सरकारी अनुमति नपाएको भनिएको छ। हाल सेनाको हेलिकप्टर मात्र उद्धारमा परिचालित रहेको उनको भनाइ छ।

सरकारले उद्धार तथा खोजीमा प्रयास गरिरहेको प्रति धन्यवाद दिँदै उनले अझै सम्पर्कविहीन रहेका नागरिकको खोजीलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेकी छन्।

पूजाले सामाजिक सञ्जालमार्फत पटक–पटक श्रीमान्‌‌लाई सम्बोधन गर्छिन् र आफू र छोरीले उनलाई पर्खिरहेको बताउँछिन्। ‘हरेक बिहान ६ र ७ बजेको बीचमा तपाईंको गुड मोर्निङ मेसेज आउने बानी थियो। आज त्यो मेसेज नआएको पनि १२ दिन भइसक्यो,’ उनले लेखेकी छन्।

समय बित्दै जाँदा श्रीमान्‌को अवस्था झनै चिन्ताजनक बन्दै गएको भन्दै उनले सम्भावित सबै क्षेत्र, जंगल, बाटो, खोल्सा र क्याम्प आसपासका कुनाकाप्चामा सघन खोजी गर्न आग्रह गरेकी छन्।

‘अब धेरै ढिला हुँदैछ सरकार। मानिसहरू जीवितै हुन सक्छन्, तर आफैँ बाहिर निस्कन सक्ने अवस्थामा नहुन सक्छन्। कृपया सम्भावित प्रत्येक क्षेत्रमा सुरक्षाकर्मी तथा उद्धार टोली परिचालन गरी सघन खोजी गरिदिनुहोस्,’ उनी बारम्बार आग्रह गर्छिन्।

श्रीमान्‌ सम्पर्कविहीन भएको १२ दिन पुग्दा पूजाले आफूले दैनिक जीवनका साना–साना कुरा समेत उनलाई सुनाउन नपाएको पीडा व्यक्त गर्छिन्। आफ्नी छोरीको तस्बिर खिचेर ‘हेर न हाम्रो छोरी’ भन्दै श्रीमान्‌लाई पठाउने गरेको सम्झिँदै उनले अहिले छोरीका गतिविधि सुनाउने व्यक्ति नै सम्पर्कविहीन भएको पीडा पोख्छिन्।

'मैले जिन्दगीमा बुढोबाहेक अरू केही मागेकी छैन। यदि मबाट कुनै गल्ती भएको छ, कुनै पाप गरेको छु भने त्यसको सजाय मलाई दिनु, तर मेरो बुढोलाई केही नहोस् भगवान्,' पूजाले बेदना पोख्छिन्, 'मेरो बच्चाले त अहिलेसम्म केही बुझ्न पनि सकेको छैन। उसको के दोष छ र भगवान् ? उसको लागि भए पनि मेरो बुढोलाई सकुशल, सुरक्षित र चाँडै हामीमाझ फर्काइदिनुहोस्।'

कृष्ण जन्माष्टमीका दिनसमेत उनले श्रीमान्‌को सकुशल उद्धारका लागि भगवानसँग प्रार्थना गरेकी थिइन्। ‘मलाई अरू केही चाहिँदैन, मेरो बुढो सुरक्षित फर्केर आओस्, मेरो नानीले आफ्ना बाबालाई देख्न पाओस्,’ उनले भावुक हुँदै सामाजिक सञ्जालमा बिलौना गर्छिन्।

'छिट्टै आउनु है। म र हजुरकी छोरी तपाईंको बाटो हेरेर बसेका छौँ। आज भगवान् श्रीकृष्णको जन्माष्टमीको दिन, प्रेमका देवता श्रीकृष्णसँग यही एउटा प्रार्थना छ, हे भगवान् कृष्ण, यो प्रेमिकाको गुहार सुनिदिनुहोस्। मेरो संसारलाई सकुशल मेरो र मेरी छोरीको काखमा फर्काइदिनुहोस्। हाम्रो परिवार फेरि सँगै हुने दिन छिट्टै ल्याइदिनुहोस्। कृष्ण जन्माष्टमीको दिन मेरो एउटै प्रार्थना, मेरो बेबी सकुशल फर्केर आऊ।'

भोटेकोशी बाढीपछि आयोजनासँग सम्बन्धित क्षेत्रमा समेत धेरै व्यक्ति सम्पर्कविहीन रहेको भन्दै पूजाले सबै पक्षलाई खोज तथा उद्धारका लागि पहल गरिदिन आग्रह गरेकी छन्।

‘जहाँ छौ, सुरक्षित बस्। हामी तिमीहरूलाई पर्खिरहेका छौँ,’ उनी हरसमय श्रीमान्‌को पाइलाले घरको आँगनलाई छोउन् भन्दै भगवानसँग प्रार्थना गर्छिन्।

प्रकाशित: २१ भाद्र २०८३ १५:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App