१२ कार्तिक २०८३ बिहीबार
image/svg+xml
समाज

प्रहरीले भन्यो : इनम सापकोटामाथि अनुसन्धान भइरहेकाले प्रमाण सार्वजनिक नगर्नू

प्रहरीले विचौलियाको काम गरेको आरोपमा पक्राउ परेका इनम सापकोटाबारे अनुसन्धान जारी रहेकाले संवेदनशील विवरण, प्रमाण तथा सूचना सार्वजनिक नगर्न आग्रह गरेको छ।

बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौंले विज्ञप्ति जारी गर्दै इनम सापकोटाको अनुसन्धानसँग सम्बन्धित विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार तथा सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ,‘इनम सापकोटाको मुद्दासँग जोडी विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित समाचार तथा सामग्रीहरूमा अनुसन्धान अधिकृतलाई सूचनाको स्रोत सङ्केत गरी अनुसन्धानसँग सम्बन्धित विषयहरू सार्वजनिक गरिएको समाचार तथा सामग्रीहरूको सन्दर्भमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।’

उक्त मुद्दाको अनुसन्धान प्रचलित कानुन र निर्धारित प्रक्रियाअनुसार गोप्य रूपमा भइरहेको जनाउँदै प्रहरीले अनुसन्धानसँग सम्बन्धित संवेदनशील विवरण, प्रमाण तथा सूचना कुनै पनि व्यक्ति वा पक्षलाई उपलब्ध नगराइएको उल्लेख गरेको छ।

अनुसन्धानको निष्पक्षता, व्यावसायिकता र गोपनीयता कायम राख्न प्रहरी प्रतिबद्ध रहेको उल्लेख गर्दै परिसरले अनुसन्धानको संवेदनशीलतालाई ध्यानमा राखेर समाचार तथा सामग्री प्रकाशन गर्न आग्रह गरेको छ।

मुद्दासँग सम्बन्धित सूचना तथा सामग्री सम्प्रेषण गर्दा तथ्यको आधिकारिकता पुष्टि गर्नसमेत प्रहरीले अनुरोध गरेको छ। 

‘अनुसन्धानको संवेदनशीलता र प्रचलित कानुनी व्यवस्थालाई पालना नगरेको खण्डमा कानुन बमोजिम हुने हुँदा मुद्दासँग सम्बन्धित सूचना एवं सामग्रीहरू सम्प्रेषण वा प्रकाशन गर्दा जनमानसमा भ्रम सिर्जना हुन सक्ने भएकाले आधिकारिकता पुष्टि गर्न समेत अनुरोध गरिएको छ’, विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: १२ कार्तिक २०८३ १४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App