जिल्ला प्रहरी कार्यालयले चितवनभित्र कार्यरत प्रहरीलाई एक ठाउँबाट अर्को ठाउँमा घुम्दै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित ‘घुमौँ चितवन’ कार्यक्रम पुनः सुरु गरेको छ। युवापुस्ता जेनजी प्रदर्शन, निर्वाचनलगायत कारणले रोकिएको उक्त कार्यक्रम पुनः सुरु गरिएको हो।
जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत प्रहरी एक ठाउँबाट अर्को भूगोलमा गएर त्यहाँको पर्यटकीय गन्तव्यमा रमाउनुका साथै यसले आन्तरिक पर्यटन प्रवर्द्धन हुने विश्वास लिइएको छ।
प्रहरीले तनाव व्यवस्थापन गर्ने, रचनात्मक तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन गर्ने, भाइचारा सम्बन्ध कायम गराउने, अनुभव साटासाट गर्ने, पर्यटन प्रवर्द्धन गर्नेलगायत कार्यक्रम गर्दै आएको छ।
कायालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार प्रहरीलाई केही समय आराम गराउने, आन्तिरक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा डुङ्गा सयर, र्याफ्टिङ, हाइकिङलगायत पर्यटकीय गतिविधि सञ्चालन हुँदै आएका छन्। साथै चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटकीय गतिविधिमा सहभागी गराउने गरिएको उनले बताए।
प्रहरी उपरीक्षक पुरीका अनुसार छिमेकी जिल्लामा समेत पुगेर त्यहाँका पर्यटकीय सम्पदामा रमाउने, विभिन्न गतिविधिमा संलग्ने हुने र ज्ञान आर्जन गर्ने गरिएको छ। आलोपालो गरी गरिएको यस कार्यक्रमले प्रहरी कर्मचारी प्रत्यक्ष रूपमा लाभान्वित भएका उनले बताए। करिब एक वर्ष अघिदेखि सुरु गरिएको उक्त कार्यक्रमले प्रहरीलाई पुनर्ताजगी र सरुवा भएर एक ठाउँबाट अर्को ठाउँमा जाँदा भूगोलको पनि उचित ज्ञान हुने गरेको उनको बुझाइ छ। जिल्ला प्रहरी कार्यालय मातहत चितवनमा नौ सय प्रहरी कार्यरत छन्। जिल्ला ट्राफिक, आठ इलाकासहित जिल्लामा ७३ युनिटमा रहेर प्रहरीले सेवा प्रवाह गरिरहेका छन्।
प्रकाशित: ८ चैत्र २०८२ १२:४६ आइतबार





-600x400.jpg)