कास्की प्रहरीले चाडपर्व सुरक्षा योजना लागु गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले नेपालीको महान चाड बडादशैंको अवसरमा आम नागरिकको शान्ति सुरक्षा, अमनचयन कायम गर्न चाडपर्व सुरक्षा योजना लागु गरेको हो । जसका लागि कास्कीमा मात्रै ९ सय २३ जना प्रहरी परिचालन गरिएको जनाइएको छ ।
कास्की प्रहरीले बडादशैंको अवसरमा कुनै अप्रिय घटना, दुर्घटना, चोरी, डकैती वा लुटपाट हुन नदिन कुकुरसहितको चेकिङ सुरु गरेको जनाएको छ । घटना घटाएर हिंडेकालाई पक्राउ गर्न कुकुरसहितको चेकिङ सुरु गरिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीले जानकारी दिए । उनका अनुसार चाडपर्व सुरक्षा योजना अन्तर्गत टोलटोलमा पैदल गस्ती, ग्रामिण गस्ती, पट्रोलिङ पनि सुरु गरिएको छ ।
चाडपर्व सुरक्षा योजना अन्तर्गत कास्की प्रहरीले एम्बुसिङ चेकप्वाईन्ट पनि सुरु गरेको एसपी कार्कीले बताए । उनका अनुसार गौंडामा लुकेर गरिने एम्बुसिङ चेकप्वाईन्ट चोरी, डकैती र लुटपाटमा संलग्न भएकालाई नियन्त्रणमा लिन गरिने छ । त्यसबाहेक उछृङखल गतिविधि नियन्त्रण गर्न, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, चर्को आवाजमा मोटरसाईक चलाएर अशान्ति फैलाउने, जुवा, तास खेल्ने, खेलाउने जस्ता गतिविधि नियन्त्रण गर्न बजार अनुगमन पनि सुरु गरिएको उनले बताए ।
त्यस्तै सादा पोशाकमा समेत प्रहरी परिचालन गरी आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति दिने प्रयास गरिएको उनले बताए ।
यात्रुहरुलाई सहायता गर्ने, बढी भाडा असुल गर्ने सवारी साधनलाई कारवाही गर्ने, सिट क्षमता भन्दा बढी यात्रु चढाउनेलाई कारवाही तथा सहजीकरण गर्ने र सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी जाँच गर्ने कार्य भइरहेको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।
प्रकाशित: १० आश्विन २०८२ १८:३० शुक्रबार





