जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश अध्यक्ष अशोक यादवले आफूमाथि सर्लाही प्रहरीले प्रतिशोध साँधेर झुटा मुद्दा लगाएको आरोप लगाएका छन्।
आइतबार सर्लाहीमा पत्रकार सम्मेलन गर्दै उनले जिल्ला प्रहरी प्रमुख (एसपी) योगेन्द्र कुमार खड्काले आफूलाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको र मध्यरातमा घरमा प्रहरी पठाएर परिवारमाथि दमन गरेको आरोप लगाएका छन्।
उनले आफूमाथि लगाइएको ‘आपराधिक उपद्रव’ को मुद्दा झुटो र नियोजित भएको समेत दाबी गरे। जिल्लामा व्याप्त भ्रष्टाचार र अनियमितताविरुद्ध आवाज उठाएपछि आफूलाई प्रतिशोध साँध्न प्रहरी प्रशासनले शक्ति दुरुपयोग गरेको उनको भनाइ छ।
पत्रकार सम्मेलनमा आक्रोशित मुद्रामा प्रस्तुत भएका यादवले एसपी खड्कासँगको फोन संवादको प्रसङ्ग उल्लेख गर्दै भने, ‘मैले पूर्वाधार कार्यालयमा भइरहेको अनियमितताको विषयमा कुरा उठाउँदा एसपी सा'बले आवेशमा आएर मलाई फोनमा ‘साले’ भन्नुभयो। त्यसको भ्वाइस रेकर्ड मसँग सुरक्षित छ, त्यसको फरेन्सिक जाँच हुनुपर्छ। राज्यको जिम्मेवार पदमा बसेको व्यक्तिले एक जनप्रतिनिधिलाई यस्तो शब्द प्रयोग गर्न मिल्छ ?’
उनले थपे, ‘त्यति मात्र होइन, राति १२ बजे मेरो घरमा प्रहरी पठाएर दमन गरियो। मेरो छोरालाई मरणासन्न हुने गरी कुटपिट गरियो। खै कहाँ छ न्याय ? कहाँ छ अदालत ? कहाँ छ कानुन ? के राज्यले प्रहरीलाई नागरिकको सुरक्षा गर्न पठाएको हो कि राति घरमा डकैती गर्न ?’
यादवले आफूलाई मधेसी भएकै कारण निशाना बनाइएको आरोप लगाए। ‘किनकि हामी मधेसी छौं, हामी कमजोर छौं, हाम्रो आवाज उठाउने कोही छैन भन्ने सोचेर उनीहरूको मनोबल बढेको छ। यदि कुनै पहाडी समुदायको व्यक्ति हुन्थ्यो भने यस्तो घटना घट्नासाथ कारबाही भइसक्थ्यो,’ उनले भने।
प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि ‘फरार’ भएको भन्ने आरोपको खण्डन गर्दै यादवले आफू छोराको उपचारका लागि बाहिर रहेको स्पष्ट पारे। ‘ममाथि विभिन्न किसिमका मुद्दा लगाएर डराउन खोजिँदैछ, तर म डराउने मान्छे होइन। एउटा अशोक यादवलाई दबाएर हजारौं अशोक यादव जन्मन्छन्,’ उनले चेतावनी दिँदै भने।
उनले आफ्नो लडाइँ व्यक्तिगत नभई मधेसमा व्याप्त भ्रष्टाचार, तस्करी र कमिसनतन्त्रविरुद्ध भएको बताए। उनले भने, ‘यो अशोक यादवको व्यक्तिगत समस्या होइन, यो समग्र मधेसको समस्या हो। यहाँको लुटतन्त्र र बेथितिको अन्त्यका लागि हामी अब छुट्टै सङ्घर्ष गर्न तयार छौं।’
घटना के थियो ?
मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा राति अबेरसम्म काम भइरहेको र त्यहाँ अनियमितता भएको विषयमा नेता यादव र एसपी खड्काबीच फोनमा चर्को भनाभन भएको थियो।
त्यसपछि यादवलाई पक्राउ गर्न प्रहरी उनको घर पुग्दा स्थानीयले प्रहरीको गाडी तोडफोड गरेका थिए। सोही घटनापछि प्रहरीले यादवविरुद्ध ‘आपराधिक उपद्रव’ को मुद्दा दर्ता गरी अदालतबाट पक्राउ पुर्जी जारी गराएको थियो।
यादवको समर्थनमा जसपासहित सर्लाहीका ६ राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको न्यायिक छानबिन गर्न र एसपी खड्कामाथि कारबाही गर्न माग गरिसकेका छन्।
प्रकाशित: १८ श्रावण २०८२ २१:३१ आइतबार





