२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

प्रहरीद्वारा हवाई फायर गरी लागुऔषधसहित एक युवक पक्राउ

मोरङको रतुवामाई नगरपालिकामा सोमबार राति प्रहरीले हवाई फायर गरी ठुलो परिमाणको लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित एक जनालाई नियन्त्रणमा लिएको छ। भारतबाट लागुऔषध ल्याउँदै गरेको अवस्थामा भाग्न खोजेपछि प्रहरीले गोली चलाएर उनलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।

मोरङका प्रमुख एसपी कवित कटवालका अनुसार रतुवामाई नगरपालिका–१ हटिया डाँडामा सामेबार राति सवा ८ बजेतिर गोली चलाएर लागुऔषधसहित एक जनालाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय सिजुवको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एडी ५३९० नम्बरको भारतीय मोटरसाइकललाई शंका लागेर रोक्न खोजेको थियो।

प्रहरीलाई देख्नासाथ मोटरसाइकल चालकले तीव्र गतिमा भगाउने प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बूले पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरेको एसपी कटवालले बताए। प्रहरीले फायर गरेपछि मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिन सफल भएको उनले बताए।

रतुवामाई नगरपालिका–१ सोनापुरका  २१ वर्षीय मोहम्मद आविद मियाँलाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीले उनलाई खानतलासी गर्दा कालो प्लास्टिकमा प्याक गरिएको अवस्थामा ५ पोका ब्राउन सुगर बरामद गरेको छ। बरामद गरिएको ब्राउन सुगरको तौल प्लास्टिकसहित ४७५ ग्राम ८२० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका मियाँ लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनलाई हाल इलाका प्रहरी कार्यालय सिजुवामा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

पछिल्लो समय मोरङको सीमावर्ती क्षेत्रबाट लागुऔषध ओसारपसारका घटनाहरू बढ्दै गएको भन्दै प्रहरीले सक्रियता बढाएको छ। ‘लागुऔषध तस्करहरूलाई नियन्त्रणमा लिन प्रहरीले कडा कदम चाल्न थालेको छ, यो सफलता त्यसैको एउटा कडी हो,’ एसपी कटवालले भने।

प्रकाशित: ८ वैशाख २०८३ ०९:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App