पर्यटकीय राजधानी पोखरा र चीनको हुआङशान शहरबीच भगिनी सम्बन्ध स्थापित भएको छ । काठमाडौंमा बुधबार आयोजित एक औपचारिक कार्यक्रममा दुई शहरबीच भगिनी सम्बन्ध स्थापित गर्ने सम्बन्धि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो ।
पोखरासँग भगिनी सम्बन्ध स्थापित गर्ने चीनको हुआङशान शहर युनेस्कोको सम्पदा सूचीमा सूचीकृत शहर हो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले चीनको हुआङशान शहरसँग भगिनी सम्बन्ध स्थापित गरिएको जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्,‘आज चीनको हुआङशान शहर र पोखरा महानगरबीच मित्रता (भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धि (प्रारम्भिक) सम्झौतामा हस्ताक्षर भएको छ ।’

मेयर आचार्यले हुआङशान शहरसँग भगिनी सम्बन्ध स्थापित गर्ने सम्झौताले पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा अझ प्रख्यात बनाउन भूमिका खेलेको बताए । यस सम्झौताले नेपाल–चीनबीचको मित्रतालाई अझ मजबुत बनाउन ठूलो योगदान पुर्याउने विश्वास लिएको छु’, उनले थप भनेका छन्,‘यससँगै पर्यटन, संस्कृति, शिक्षा तथा शहरी विकासजस्ता क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ ।’
उनका अनुसार भगिनी सम्बन्ध स्थापित गरेको हुआङशान शहरले पोखराको पर्यटन, संस्कृति, शिक्षालगायतका क्षेत्रमा सहयोग प्रदान गर्नेछ ।
प्रकाशित: ११ भाद्र २०८२ १६:२६ बुधबार





