१ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

ललितपुर- ३ मा ‘विषादी परीक्षण केन्द्र’ सञ्चालन

ललितपुर महानगरपालिका वडा नं- ३ ले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै तरकारी तथा खाद्यवस्तुमा विषादीको प्रयोग भए/नभएको जाँच गर्न ‘विषादी परीक्षण केन्द्र’ सञ्चालनमा ल्याएको छ।

शनिबार एक कार्यक्रमका बीच ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले उक्त केन्द्रको उद्घाटन गरेका हुन्।

केन्द्रको उद्घाटन गर्दै महानगर प्रमुख महर्जनले वडावासीको स्वास्थ्यप्रति संवेदनशील भई परीक्षण केन्द्र सञ्चालन गरेकोमा वडा कार्यालयको प्रशंसा गरे। उनले अन्य स्थानीय तह र वडाहरूले भन्दा वडा नं-३ ले पृथक काम गरेको दाबी गरे।

मेयर महर्जनले भने, ‘स्मार्ट सडक बत्ती, हाइमास्ट लाइट, साइकल लेन र म्यानमेड ग्रिनरी निर्माणमा हामीले जसरी नेतृत्व गर्यौँ, त्यसैगरी वडा नं- ३ ले विषादी परीक्षण केन्द्र सञ्चालन गरेर देशभरका वडाहरूमा पहिलो र उदाहरणीय काम गरेको छ।’

वडा नं-३ का वडा अध्यक्ष श्रीगोपाल महर्जनले विषादीयुक्त खानेकुराले क्यान्सर जस्ता प्राणघातक रोगको जोखिम बढाएको भन्दै नागरिकको स्वास्थ्यप्रतिको जिम्मेवारी बोध गर्दै केन्द्र स्थापना गरिएको बताए।

‘हामी तरकारीको नमुना संकलन गरेर परीक्षण गर्छौं। यदि विषादी प्रयोग भएको पुष्टि भए कानुनी रूपमा कारबाहीको प्रक्रिया अघि बढाउँछौँ,’ वडा अध्यक्ष महर्जनले भने।

तत्कालका लागि यो परीक्षण वडा नं-३ भित्र मात्रै सीमित गरिनेछ। धेरै ठाउँबाट माग आए पनि हाल क्षमता विस्तार नभइसकेकाले वडावासीलाई प्राथमिकतामा राखिएको उनले प्रष्ट पारे।

वडाले भविष्यमा ‘विषादीरहित तरकारी बजार’ सञ्चालन गर्ने तयारी समेत गरेको जानकारी दिएको छ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जनस्वास्थ्यका सवालमा वडाले उत्कृष्ट काम गरेको बताए।

सोही अवसरमा शैक्षिक सत्र २०८१ को एसइई र कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने जेहेन्दार विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।

विद्यार्थीहरूलाई महानगर प्रमुख महर्जन, वडा अध्यक्ष महर्जन र बोर्ड अध्यक्ष शर्माले प्रमाणपत्र, खादा र प्रोत्साहन भत्ता प्रदान गरेका थिए।

प्रकाशित: १३ मंसिर २०८२ २१:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App