तिहार मनाइरहँदा जुम्लाको तिला गाउँपालिका वडा नम्बर ६ ले प्लास्टिकजन्य फूलमालाको प्रयोग, व्यापार र वितरण पूर्णरूपमा निषेध गरेको छ ।
यो निर्णय सामान्य प्रशासनिक निर्देशन मात्र नभइ एक संवेदनशील, दूरदर्शी र सांस्कृतिक चेतनाले भरिएको अभियानका रुपमा लिइएको वडाध्यक्ष जंग रोकायाले बताए । उनले भने, ‘हामी नेपालीहरूले पर्व मनाउँदा केवल उत्सव मात्र होइन, आस्था, संस्कृति र प्रकृतिको सम्मान पनि गर्ने गर्छौं। तर,पछिल्ला वर्षहरूमा प्लास्टिकबाट बनेका चटकिला, रासायनिक फूलमालाले हाम्रो सांस्कृतिक मौलिकता र प्राकृतिक सन्तुलन दुवैमा गम्भीर असर पुर्याइरहेका छन्।’
उनका अनुसार प्लास्टिक मालाले तत्काल सजिलो देखिए पनि दीर्घकालीन रूपमा यसले माटो, पानी र हावामा विषाक्तता फैलाउँछ। सचिव मुनबहादुर रोकायाले आफ्नै बारीमा फुलेका फूलले संस्कार झल्काउँने र माटोको सुगन्ध बोक्ने बताए । यो अभियानले स्थानीय किसानलाई लाभ मिल्नेछ ।
‘हामी आफ्नै फूल बेच्न सक्नेछौं, आम्दानी हुनेछ, अनि पैसा विदेश जाने होइन, गाउँमै घुम्नेछ,’ खुसी हुँदै स्थानीय किसान विमल थापाले भने ।
वडाका अनुसार अहिले बजारमा पाइने प्रायः प्लास्टिकका माला भारतबाट आयात हुने गरेका छन् ।
प्रकाशित: ३ कार्तिक २०८२ २०:५९ सोमबार





