५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

उदयपुरमा सकियो रोपाई

उदयपुरको ८ वटै स्थानीय तहमा रोपाई अन्तिम चरणमा पुगेको छ । कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार जिल्लाका ८ वटै स्थानीय तहमा रोपाई अन्तिम चरणमा पुगेको हो । हालसम्म ९७ प्रतिशत खेतमा रोपाई भईसकेको छ भने सोमबारसम्ममा सबै खेत रोपिसक्ने कृषि ज्ञान केन्द्र प्रमुख योगेन्द्रप्रसाद यादवले बताए । असारभित्रै गरिसक्नुपर्ने रोपाई यस वर्ष समयमा पानी नपर्दा सिँचाई सुविधा नभएको खेतमा रोपाई गर्न ढिला भएको हो ।

समयमा धान रोप्न नपाएर चिन्तित किसान वर्षासँगै रोपाई गर्न पाएकोमा खुसी भएका छन् । ‘असारभित्रै रोपाई गरिसक्नु पर्नेमा यसपालि साउन मध्येसम्म पनि वर्षा नहुँदा हामी किसान मार्कामा थियौँ’ गाँईघाट राजाबासका किसान गोपाल दनुवारले खुसी व्यक्त गरे ‘तर, १७ गतेदेखि पर्न थालेको पानीले साता दिन नबित्दै सबै खेतमा रोपाई गर्न भ्याई सकियो ।’

किसानहरूका अनुसार गत वर्ष समयमै वर्षा भएकाले असारभित्रै रोपाई भईसकेको थियो । यस वर्ष केही ढिला भए पनि रोपाई भइसकेकाले धान उत्पादन राम्रै हुने किसानमा आसा पलाएको छ । ‘बेलामा पानी नपरेर रोपाई गर्न ढिलो त भएकै हो तर, खासै फरक परेन’ असारीका किसान प्रमोद चौधरीले भने ‘तर, १७ गते रातिदेखि घनघोर पानी परेकाले सबै खेतमा पर्याप्त पानी पुगेर बेलैमा रोपाई सकियो ।’

‘ज्ञान केन्द्र प्रमुख यादवका अनुसार साउन १७ सम्म ६५ प्रतिशत मात्र रोपाई भइरहेकोमा १८ गतेदेखि २५ गते (आइतबार) दिउँसोसम्म साता दिनमै सबैतिर रोपाई सकिने अवस्थामा पुगेको छ । बिउ हुर्किसकेको अवस्था भएको तर, वर्षा नभएर सिँचाई नभएर मात्र रोकिएको रोपाई वर्षा भएपछि भकाभक गर्न किसानलाई सहज भएर ९७ प्रतिशत भईसकेको यादवले बताए ।

यादवका अनुसार जिल्लाका ४ नगर र ४ गाउँपालिका सबैमा रोपाई सकिन लागेको छ । लिमचुङबुङ गाउँपालिकामा शतप्रतिशत रोपाई भईसकेको छ भने उदयपुरगढी गाउँपालिकामा ९७ प्रतिशत तथा ताप्ली र रौतामाई गाउँपालिकामा ९५ प्रतिशत रोपाई सकिएको छ । चौदण्डीगढी नगरपालिकामा ९६ प्रतिशत, कटारी नगरपालिकामा ९५ प्रतिशत तथा बेलका र त्रियुगा नगरपालिकामा ९२ प्रतिशत रोपाई भईसकेको छ ।

उदयपुरमा अधिकांश खेतमा सिँचाई नपुगेका कारण आकाशे पानीको भरमा रोपाई गरिँदै आएको छ । सिँचाई असुविधाले गर्दा आकाशे पानीको भरमा रोपाई गर्नुपर्ने भएकाले वर्षा अनिवार्य हुनुपर्ने समस्या छ । राज्यसम्म पहुँच नपुग्दा सर्वसाधारण किसान सरकारी अनुदान लिन नपाएर पनि सिँचाई सुविधाबाट वञ्चित भइरहनुपरेको गुनासो गरेका छन् ।

कृषि ज्ञान केन्द्रका अनुसार उदयपुरमा यस वर्ष १३ हजार धान खेती गर्ने जमिन बढेको छ । गत वर्ष १२ हजार ७ सय ९४ हेक्टरमा धान खेती लगाइएको थियो भने यस वर्ष १३ हजार ८० हेक्टरमा रोपाई भएको छ ।गत वर्ष प्रतिहेक्टर ४.५ मेट्रिक टनका दरले ५७ हजार ५ सय ७३ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष पनि रोपाई केही ढिला भए पनि उत्पादन गत वर्षभन्दा नघट्ने अनुमान गर्न सकिने यादवले बताए ।

विगत वर्षहरूको दाँजोमा धान उत्पादन पनि उदयपुरमा बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्ष भन्दा गत वर्ष शून्य दशमलव ५ प्रतिशत धान उत्पादन बढेको थियो भने खेतीको क्षेत्रफल पनि २ हेक्टर बढी थियो । यो वर्ष १४ हेक्टर बढी जमिनमा रोपाई भएको छ भने उत्पादन पनि बढ्ने आसा गरेको हाकिम यादवले बताए ।

दुई वर्षअघि प्रतिहेक्टर ४ मेट्रिक टनका दरले धान फलेकोमा गत वर्ष प्रतिहेक्टर ४.५ टनका दरले फलेको थियो ।जस अनुसार सो वर्ष ५१ हजार १ सय ६८ मेट्रिक टन अर्थात ६ हजार ४ सय ५ मेट्रिक टन धान फलेको ज्ञान केन्द्रको अभिलेखमा उल्लेख छ ।

उदयपुरमा फरक भूगोल र हावापानी अनुसार फरक फरक प्रजातिको धान उब्जाउने गरिएको छ । पहाडदेखि तराई मधेससम्म किसानले रञ्जित, राधा–१२, हर्दिना, मन्सुली, सभा मन्सुली र लल्का बाँसमति प्रजातिको धान लगाउने गरेका छन् ।  

प्रकाशित: २५ श्रावण २०८२ १८:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App