पोखरा भ्रमणमा आएका बंगलादेशी फोटो पत्रकार र नेपाली फोटो पत्रकारले पोखरा रङ्गशाला परिसरमा संयुक्त रुपमा वृक्षरोपण गरेका छन्।
दुई देशबीचको भाइचारा एवं मित्रताको प्रतिक स्वरुप आँपलगायत विभिन्न फलफूलका बिरुवा रोपिएको हो। वृक्षरोपणबाट फोटो पत्रकारबीच थप सम्बन्ध सुदृढ हुने विश्वास लिइएको छ। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङको सहयोगमा गरिएको वृक्षरोपणमा बङ्गलादेश फोटो पत्रकार सङ्घका अध्यक्ष ए.के.एम. मोहसिन, राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तलगायत फोटो पत्रकारको सहभागिता थियो।
समूहका अध्यक्ष वन्तले नेपाल र बंगलादेशका फोटो पत्रकारबीच २१ वर्षदेखि कायम भाइचारा र व्यावसायिक सम्बन्धलाई वृक्षरोपणजस्ता सिर्जनशील कार्यले थप प्रेरणा मिल्ने बताए।
अध्यक्ष मोहसिनको नेतृत्वमा आएको बङ्गलादेशी फोटो पत्रकारको टोलीले सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेका थिए। भेटमा दुईपक्ष हित तथा जनस्तरमा सांस्कृतिक आदानप्रदानलगायत विषयमा कुराकानी भएको थियो।
प्रमुख आचार्यले अन्तर्राष्ट्रिय बजारमा पोखराको पर्यटन प्रवर्धनका लागि महानगरपालिकाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताउँदै बंगलादेशमा पोखराको प्राकृतिक सुन्दरता, संस्कृति, आतिथ्यता एवं साहसिक पर्यटन गतिविधिको प्रचारप्रसार गरिदिन आग्रह गरेका थिए।
बङ्गलादेशी फोटो पत्रकारले पोखराको प्राकृतिक सौन्दर्य र वातावरणले आकर्षित भएको बताएका थिए। १२ सदस्यीय टोलीमा बंगलादेश फोटो पत्रकार सङ्घका अध्यक्ष मोहसिन, महासचिव बाबुल तालुकदार, पूर्वअध्यक्ष ए.बी.एम. रफिकुर रहमानलगायत रहेका छन्।
भेटमा राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष वन्त, महासचिव घनश्याम श्रेष्ठ, सदस्य अजय मानन्धर, कास्की शाखाका अध्यक्ष योगेन्द्र श्रेष्ठ, उपाध्यक्ष वसन्त थापा, सचिव प्रेम थापालगायतको सहभागिता रहेको थियो।
प्रकाशित: २ भाद्र २०८३ ११:४७ मंगलबार





