कपिलवस्तुको कृष्णनगर नगरपालिकामा भारतीय नम्बर प्लेटको स्कार्पियोले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।
चन्द्रौटा–कृष्णनगर सडकखण्ड अन्तर्गत वडा नं-९ जुमिलीमा भएको दुर्घटनामा स्थानीय ६५ वर्षीय शिवप्रसाद चौधरीको ज्यान गएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मंगलबार दिउँसो बाटो काट्दै गरेका चौधरीलाई यूपी ३५ एके २४१५ नम्बरको स्कार्पियोले ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए।
प्रहरीले ठक्कर दिने स्कार्पियो र त्यसका चालक ३५ वर्षीय पप्पु चौधरीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १८ कार्तिक २०८२ २०:११ मंगलबार





