आर्थिक वर्ष २०८१/८२ को एक वर्षे अवधिमा ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा २ लाख १७ हजार ७ सय ७६ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् ।
यो संख्या आर्थिक वर्ष २०८०/८१ भन्दा केही कम हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०/८१ मा २ लाख ३१ हजार ३ सय ३४ जना दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका थिए ।
विभिन्न किसिमका आन्दोलनका कारण बन्द भएको यातायात तथा पाँचथरको हेंवाखोला क्षेत्रमा बाढीले बेलिब्रिज बगाएपछि दर्शनार्थीलाई आउन कठिनाइ कारण आर्थिक वर्ष २०८०/८१ को तुलनामा आव २०८१/८२ मा केही दर्शनार्थी कम हुन सक्ने आङ्कलन सुरुमै गरिएको थियो । दर्शनार्थीको संख्या घट्दा पाथीभरा मन्दिरमा संकलन भई गणना भएको भेटी रकममा समेत अघिल्लो आव भन्दा आव २०८१/८२ मा केही कमी देखिएको छ ।
क्षेत्र विकास समितिका अनुसार आर्थिक वर्ष २०८०/८१ मा पाथीभरा मन्दिरबाट ३ करोड ९८ लाख ४१ हजार ९ सय ५८ रुपैयाँ भेटी संकलन भएको थियो । आर्थिक बर्ष २०८१/८२ को असार मसान्त सम्ममा ३ करोड ११ लाख ६४ हजार ६ सय ७६ रुपैयाँ भेटी गणना भइसकेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
प्रकाशित: ३२ असार २०८२ १८:३८ बुधबार




