१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

पुराना एम्बुलेन्स बन्द हुँदा देशभर बिरामी र शव अलपत्र पर्ने खतरा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन गर्न नपाइने जनाएपछि एम्बुलेन्स अभाव हुने चिन्ता गरिएको छ। हाल सञ्चालनमा रहेका एम्बुलेन्समध्ये ८० प्रतिशत १० वर्ष पुराना रहेकाले अभाव हुने चिन्ता गरिएको हो।  

संयुक्त एम्बुलेन्स चालक सङ्घका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले हाल सञ्चालनमा रहेका तीन हजार ३०० एम्बुलेन्समध्ये करिब ८० प्रतिशत १० वर्ष पुराना रहेको जानकारी दिए। उनको अनुसार तीमध्ये १० हाराहारी क वर्गका, १५० हाराहारी ख वर्गका र बाँकी ग वर्गका एम्बुलेन्स छन्। ग वर्गका ८० प्रतिशतभन्दा बढी एम्बुलेन्स १० वर्ष पुराना रहेको उनले बताए।  

लामिछानेका अनुसार ग वर्गका ८० प्रतिशत हाराहारी एम्बुलेन्स नवीकरणसमेत हुन सकेका छैनन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार सूचना जारी गर्दै १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन भएको पाइएमा सञ्चालन अनुमति दर्ता खारेज हुने व्यवस्था गरेको छ। यससँगै सङ्घले विज्ञप्ति जारी गरेर तत्काल एम्बुलेन्स रोकिएमा बिरामी बोक्न अभाव हुने जनाएको छ। साथै अधिकांश शववाहन १० वर्ष पुराना भएका भन्दै दैनिक २०–२५ वटा शव राजधानी बाहिर पठाउने गरेकामा समस्या हुने जनाएको छ।  

स्वास्थ्य ऐन, २०७५ ले स्वास्थ्य संस्थाबाहेक अन्यलाई एम्बुलेन्स खरिदको अनुमति नदिने उल्लेख गरेसँगै अभाव हुने भन्दै विज्ञप्तिमा एम्बुलेन्स सञ्चालनमा गैरसरकारी संस्था, सामुदायिक संघ, संगठन तथा सहकारीलाई समान अधिकार दिन माग गरिएको छ। एम्बुलेन्स क्षेत्रमा कुनै पनि किसिमको एकाधिकार लगाउन नहुने विज्ञप्तिमा जनाइएको छ।  

भूगोल, सडक अवस्था, आर्थिक पृष्ठभूमि र आम नागरिकको पहुँचलाई नहेरी गरिएको यस निर्णय व्यवहारिक, न्यायिक तथा मानवीय दृष्टिले अनुपयुक्त भएको भन्दै सङ्घले तत्काल पुनर्विचार र संशोधन गर्न माग गरेको छ। सङ्घले यसअघि यससँगै अन्य मागहरू राख्दै मन्त्री र राजनीतिक नेतृत्वलाई ध्यानाकर्षण गराएको थियो। रासस

प्रकाशित: ३ मंसिर २०८२ १२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App