१३ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
समाज

पतञ्जली जग्गा प्रकरण : माधव नेपाललाई अदालतबाट राहत, कानुन व्यवसायी राख्न अनुमति

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध चलिरहेको पतञ्जली जग्गा अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दा अन्तिम सुनुवाइको चरणमा प्रवेश गरेको छ। विशेष अदालतले आगामी कात्तिक १९ गतेका लागि अन्तिम सुनुवाइको पेसी तोकेको छ।

अन्तिम सुनुवाइको मिति नजिकिँदै गर्दा नेपालले भने आफ्नो सट्टा कानुन व्यवसायीलाई तारेखमा उपस्थित गराउन पाउने भएका छन्। विशेष अदालतले शुक्रबार उनको निवेदन स्वीकार गर्दै कानुन व्यवसायी मुकरर गर्ने अनुमति दिएको हो।

विशेष कामका सिलसिलामा बाहिर जानुपर्ने भएकाले आफू उपस्थित हुन नसक्ने भन्दै नेपालले बुधबार अदालतमा निवेदन दिएका थिए। अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले उनको मागबमोजिम अनुमति प्रदान गरेको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।

पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठ २२ गते नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अख्तियारले तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गर्दै पतञ्जली योगपीठलाई हदबन्दीभन्दा बढी जग्गा कारोबार गर्न स्वीकृति दिलाएको आरोप लगाएको छ।

अभियोगपत्रमा काभ्रेपलाञ्चोकको साँगास्थित पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा सट्टापट्टा गरिएको उल्लेख छ।

यस प्रकरणमा नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ। अख्तियारले उनीसहितका प्रतिवादीलाई भ्रष्टाचारजन्य कार्यमा संलग्न रहेको आरोप लगाएको छ।

अब कात्तिक १९ गते हुने अन्तिम सुनुवाइले पतञ्जली जग्गा प्रकरणको न्यायिक प्रक्रियामा महत्वपूर्ण चरण निर्धारण गर्नेछ।

प्रकाशित: १३ कार्तिक २०८३ १६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App